जनकपुर ।
जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबारदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि लागू हुनेगरी जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको जानकारी गराएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलिय/सर्वपक्षिय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिश बमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार शनिबारदेखि निर्वाचन सम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गर्न निषेधित गरिएको सूचनामा उल्लेख छ ।
सूचनाको बर्खिलाप हुने गरी कोहि कसैले निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ ।