जनकपुर ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्वर २ को तीनकौरिया चोकमा असोज ८ गते आयोजना हुने वृहत् कार्यक्रममा उनी नेकपा एमालेमा प्रवेश गर्ने जनाइएको छ ।
८ गते आयोजना हुने वृहत् कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि धनुषा आउने भएका छन् ।
केपी ओली नेकपा एमालेका अध्यक्ष भएदेखि जनकपुरधाममा हुने आम सभा लगायतका कार्यक्रममा पहिले आएका थिएन् ।
उनी सार्वजनिक रुपमा हुने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणपछि गत सोमवार जनकपुरधाम आएका थिए भने अव ८ गते तीनकौरिया चोकमा हुने वृहत् कार्यक्रममा आउने भएका छन् ।
२०६२/०६३ मा शुरु भएको मधेश आन्दोलन पछि मधेशी जनताहरुको झुकाव मधेशवादी दलहरु तिर बढेपछि नेकपा एमाले र नेपाली कांग्रेसमा खडेरी परेको थियो ।
कांग्रेस र नेकपा एमालेमा मधेशी जनता प्रवेश गर्न चाहेका थिएन् तर, केही दिन यता देखि कांग्रेस र एमालेमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ ।
गत सोमवार नेपाली कांग्रेसका पूर्व धनुषा उप–सभापति सन्तोष यादव सहित केही सांसदहरु एमाले प्रवेश गरेका थिए भने ८ गते हुने कार्यक्रममा लोसपाका प्रमुख सचेतक सहित हजारौं जना प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता संजीव झाले जानकारी दिएका छन् ।
दुई दुई पटक दुवै सदन सहित विधायन समितिले पारित गरी सकेको नागरिकता विधेयकको खुला रुपमा विरोध गर्दा पनि विभिन्न दलवाट मधेशीहरुनै एमालेमा प्रवेश गर्ने क्रम भने रोकिएको छैन् ।
स्रोतका अनुसार केपी शर्मा ओलीका प्रियहरु मध्ये उमाशंकर पनि एक रहेका छन् । उनी नेकपा एमालेमा नआओस भनि रघुवीर महासेठ दम्पती हर सम्भव प्रयास गरेका थिए तर, उनलाई ल्याउन केपी शर्मा ओली आफै उत्सुक देखिएपछि महासेठ दम्पतीलाई तनाव भएको स्रोतको दाबी छ ।