जनकपुर । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसर पारेर नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गर्दैछ । त्यसका लागि पार्टीले जेठ १५ गते काठमाडौँको भृकुटीमण्डपमा विशाल आमसभाको आयोजना गर्ने भएको हो ।
कार्यक्रमका लागि जनमत पार्टीका अध्यक्ष राउतले देशभरबाट पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई नेपाल आउन आह्वान गरेका छन् । पार्टीले कार्यक्रमको बारेमा सबैभन्दा बढी प्रचार काठमाडौँ उपत्यकामा गरिरहेको छ । यसका लागि अध्यक्ष राउत आफैँ पनि खटिएका थिए ।
बढीभन्दा बढी मान्छे काठमाडौँ उपत्यकाकै होस् भन्ने उनको लक्ष्य रहेको छ । प्रचार प्रसारका लागि पार्टीका नेता तथा कार्यकर्तालाई उनले परिचालन उनले गरेका छन् ।
कहाँ कहाँबाट काठमाडौँमा हुँदैछन् भेला ?
यद्यपि, उपत्यकाबाट मात्र नपुग्ने भएपछि बाहिरी जिल्लाबाट पनि नेता तथा कार्यकर्तालाई काठमाडौँ उतार्ने तयारी भइरहेको छ । यसमध्ये सबैभन्दा बढी मधेस प्रदेशबाट आउनेछन् ।
एउटा पालिकाबाट कम्तीमा एउटा बस अनिवार्य गरिएको छ । यसका लागि पार्टीले तल्लो कमिटीलाई निर्देशन दिएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि जनमत पार्टीबाट लुम्बिनी प्रदेश तथा कोशी प्रदेशबाट पनि नेता तथा कार्यकर्ता ल्याइने बताइएको छ । लुम्बिनी प्रदेशका केही स्थानीय तह तथा कोशी प्रदेशबाट झापा, मोरङ र सुनसरीबाट पनि नेता तथा कार्यकर्ता ल्याउन निर्देशन भएको पार्टीका नेताहरू बताउँछन् ।
नौलो गणतन्त्रका लागि आन्दोलन घोषणा गर्न आयोजना गर्ने कार्यक्रमको तयारीका लागि जनमतले अध्यक्ष राउतको नेतृत्वमा एउटा मूल कमिटी बनाएको छ भने त्यसका विभिन्न १८ वटा उपसमितिहरू छन् । पार्टीका अनुसार कार्यक्रमको तयारी लगभग पुरा भएको छ ।
ती सबै समितिहरूले कार्यक्रमको तयारीमा जुटेको पार्टीका उपाध्यक्ष ई. दीपक साहले बताए । उनले भने, ‘कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ, जिम्मेवारी पाएकाहरू आ–आफ्नो तयारी जुट्नु भएको छ ।’
कार्यक्रमका लागि नेता तथा कार्यकर्ताहरू काठमाडौँ आउन पनि सुरु भइसकेको साहको भनाई छ । कार्यक्रमका लागि स्वयंसेवक बनेका तथा पार्टीका पदाधिकारीहरू काठमाडौँ आइपुगेको उनले बताए ।
‘कार्यक्रममा सहभागी गराउनका लागि उपत्यकालाई लक्षित गरिएको हो । उपत्यका बाहिरबाट आउन भनिएको छ तर अनिवार्य भने गरिएको छैन,’ उनले भने, ‘पार्टी नेता तथा कार्यकर्ता जो कार्यक्रममा आउन चाहनुहुन्छ, उहाँहरू आफ्नै खर्च आउने आउनुहुन्छ । पार्टीले कुनै खर्चको व्यवस्था गरेको छैन ।’