जनकपुर । गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भए पनि प्रतिनिधिसभाका निलम्बित सदस्य लक्ष्मी महतो कोइरी प्रहरी सम्पर्कमा आएका छैनन् ।
२०७७ मा जनकपुर उच्च अदालतले फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरीले पोहोर मंसिरको आम चुनावमा महोत्तरी १ बाट जितेका थिए ।
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा झडप हुँदा जलेश्वर बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । उनलाई उपचारका लागि लिएर गएको एम्बुलेन्समाथि आक्रमण भयो । आक्रमणकारीले एम्बुलेन्सबाट उनलाई निकालेर हत्या गरे र एम्बुलेन्स जलाएका थिए ।
थमन हत्याको आरोप लागेका कोइरी निर्वाचित भएपछि तीन पटक संसद भवन छिरेको रेकर्ड छ । ७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सरिक हुन उनी नयाँ बानेश्वरस्थित संसद भवन छिरेका थिए । त्यसपछि २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा कोइरी उपस्थित थिए ।
तीन पटकसम्म संसद भवन छिरेर निस्कँदा समेत नसमातिएको भनी चौतर्फी विरोध भएपछि ६ माघ २०७९ मा गृहमन्त्रालयले कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, अझैसम्म उनी भेटिएका छैनन् ।

‘उहाँ (लक्ष्मी महतो कोइरी)का सन्दर्भमा खोजतलास जारी छ’ ‘प्रहरी प्रधान कार्यालय काठमाडौंका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले अनलाइनखबरसँग भने ।
कोइरी नेपालमै नरहेको प्रहरीको आशंका छ । कोइरीको खोजतलासको जिम्मेवारी पाएका प्रहरी अधिकृत भन्छन्, ‘कोइरीको मोबाइल अफ छ, सामाजिक संजाल प्रयोग गरिरहेका छैनन् ।’ कोइरी नेपालमा नरहेको आशंकासहित सम्भावित मुलुकका सुरक्षा निकायसँग समन्वय गरिरहेको छ ।
