जनकपुरधाम — धनुषा जिल्लाको बिदेह नगरपालिका–२ स्थित दुहबी नाकामा बिहीबार साँझ तस्कर समूह र सशस्त्र प्रहरीबीच भीषण झडप भएको छ।
नेपाल–भारत सीमावर्ती दशगजा क्षेत्रमा तस्करी नियन्त्रण गर्न पुगेका सुरक्षाकर्मीमाथि तस्कर समूहले आक्रमण गरेपछि सुरक्षाकर्मीहरूले जवाफी कारबाहीमा १४ राउन्ड गोली प्रहार गरेका हुन्।
सशस्त्र प्रहरीका अनुसार प्रहार गरिएका १४ राउन्डमध्ये ९ राउन्ड अश्रुग्यास र ५ राउन्ड जिन्दागोली रहेका छन्। झडपका क्रममा एक जना सहायक निरीक्षक (असई) को खुट्टामा भाला प्रहार भएको छ भने अन्य दुई जना प्रहरी पनि घाइते भएका छन्।
सशस्त्र प्रहरी स्रोतका अनुसार तस्करहरूका साथमा रहेको अवैध सामग्री नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गर्दै आक्रमण थालेका थिए। त्यसपछि आत्मरक्षाका लागि सुरक्षाकर्मीहरूले गोली चलाउनुपरेको थियो।
घाइते प्रहरीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ भने तस्करहरू भने फरार छन्। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
