विराटनगर — नेपालमा शुक्रबारदेखि मनसुन सक्रिय भएसँगै शनिबार बिहानैदेखि परेको अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोको कारण क्षति पुर्याएको छ। धनकुटा, इलाम, झापा, सुनसरी, उदयपुर र मोरङ गरी ६ जिल्ला प्रभावित भएका छन्।
झापामा लेउती खोलाको बाढीले एक जनाको ज्यान लिएको छ। मेचीनगर नगरपालिका–१ स्थित सुनारे टोलमा सिद्दी खोलाले बगाएको अवस्थामा इलामको रोङ गाउँपालिका–६ निवासी ५६ वर्षीय भगिरथ तामाङको शव फेला परेको हो।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीमा लेउती खोलाले कोशी लोकमार्गको करिब १०० मिटर सडक बगाएको छ। बाढीले अवरुद्ध बनाएको सडक दिनभरको मर्मतपछि साँझतिर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको धनकुटा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जनाए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा खण्डमा तीन स्थानका डाइभर्सन बगाउँदा यातायात प्रभावित भएको थियो। कालीखोला, ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ क्षेत्रका डाइभर्सनहरूमा बाढीले क्षति पुर्याए पनि मर्मतपछि सवारी सञ्चालनमा ल्याइएको छ।
कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिका–२ मा २२ परिवार विस्थापित बनाएको छ। यस्तै, माइखोलाको बाढी बस्तीमा पस्दा मेचीनगरमा पनि २२ परिवार विस्थापित भएका छन्।
विराटनगर महानगरपालिका–६ मा केसलीया खोलाको बाढीले कटान गर्दै बस्तीमा पसेको छ। नगरप्रहरीले अस्थायी बाँध बनाएर रोकथाम प्रयास जारी राखेको छ।
इलामको चुलाचुली गाउँपालिका–१ मा कुमाले खोलाको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको छ। माई नगरपालिका–७ मा पहिरोले महमाई–इलाम–लारुम्बा सडक अवरुद्ध भएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नयाँ पुल खोलामा पहिरो जाँदा चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ भने उदयपुरको बेलका नगरपालिका–८ को कोठु खोलामा पहिरोले मैनामैनी–चुहार–भोजपुर सडक चलायमान नभएको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा पनि वर्षा तीव्र हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
