विराटनगर —मोरङको बुढीगंगा गाउँपालिका-३, बगवान टोलका श्रीलाल पासवानले करिव तीन वर्षअघि छिमेकी सुइता विश्वाससंग प्रेम विवाह गरे । बिहे भएको दुई साता बित्न नपाउँदै केटी पक्षले नाबालिग छोरी बिहे गरेको भन्दै पासवानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बालविवाह मुद्दा दर्ता गराए ।
जोहेरीपछि पासवानलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गर्यो । पासवानलाई प्रहरीले पक्राउ गरेपछि सुइतालाई परिवारले जिम्मा बुझेर घर लग्यो ।
‘छोरालाई बालविवाह मुद्दा लगाए । अनि परिवारले छोरी छुटाएर लगे,' श्रीलालका बुवा मोहनलालले कान्तिपुरसँग भने, ‘अन्तरजातीय बिहे गरेकै कारण प्रहरीले छोरालाई २२ दिनसम्म प्रहरी हिरासतमा थुनेर राख्याे।’
पक्राउ परेको २३ औँ दिनमा श्रीलाल जिल्ला अदालतको आदेशमा एक लाख धरौटी बुझाएर छुटे । श्रीलालका बुवा मोहनलाल सिटी रिक्सा चलाएर परिवारको गर्जो टार्छन् । सुकुम्वासी परिवारका उनले ऋण खोजेर अदालतको धरौटी रकम बुझाएका थिए ।
अदालतबाट छुटेको केही दिनपछि श्रीलाल–सुइताको पुर्नमिलन भयो । उनीहरुले फेरि भागेर विवाह गरे । त्यो वेला भने उनीहरुको ठाउँ–ठेगानाबारे न परिवारले सुइको पायो, नत प्रहरीले नै ।
त्यसपछि केटीकी आमा रेखा विश्वासले श्रीलाल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा दोश्रो पटक मुद्दा दर्ता गरिन् । उनले श्रीलालविरुद्ध मानव अपहरण तथा बन्धक शीर्षकको झुटो मुद्दा दर्ता गरेपछि प्रहरीले खोजी तीव्र पार्यो।
एकातिर प्रहरीमा मुद्दा, अर्कोतिर आफ्नै आफन्तबाट तडप । श्रीलाल र सुइता परिवार र समाजबाट अलग भएर विस्थापित जीवन बिताउन बाध्य भए । दुई वर्षपछि बल्ल उनीहरु गाउँ फर्किए- काखमा डेढ वर्षको बच्चा च्यापेर ।
प्रहरीको खोजी सूचीमा रहेका उनलाई घर फर्किए लगत्तै प्रहरीले पक्राउ गर्ने धम्की दिइरह्यो । श्रीलालकी श्रीमती सुइताले अदालत पुगेर ‘आफूले राजीखुसी बिहे गरेको’ भनी बयान पनि दिइसकिन् । तर, पनि उनलाई प्रहरीले बारम्बार सास्ती दिइरहेको बुवा मोहनलालले कान्तिपुरसँग गुनासो गरे ।
‘मेरो छोराको गल्ती भनेको कथित ठूलो जातको केटीसँग बिहे गर्नु मात्रै हो’, संविधानसभा सदस्य बाबुलाल पासवानका छोरा मोहनलालले दुखोसो पोखे, ‘माया गर्दा पनि हामी दलितहरुले कहिलेसम्म यस्तो सास्ती भोग्नु पर्ने ?’
थुनामा राखेर थप अनुसन्धान गर्ने मनस्थितिमा रहेको प्रहरीलाई अधिकारकर्मीहरुले दबाब श्रीलाललाई बुधवार हाजिरी जमानीमा छाडिएको थियो । उनले अझै केही दिन प्रहरी कार्यालय धाउनुपर्ने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले कानुनी प्रक्रिया पुरा गर्नका लागि बयान बाँकी रहेकाले श्रीलाललाई बोलाइएको बताए । उनले थपे, ‘हामीले उनीविरुद्धको मुद्दाको कुरा बुझिसकेका छौँ, सास्ती दिने हाम्रो नियत हैन, अदालती प्रक्रिया पूरा गर्नका लागि मात्रै हो ।’
त्यसो त अन्तरजातीय विवाह गरेकै कारण प्रहरीमा झुटो मुद्दा र सामाजिक बहिष्करण खेप्ने श्रीलाल एक्ला छैनन्, मोरङकै सुन्दरहरैचा नगरपालिका-९ विराटचोकका २० वर्षीय भरत विश्वकर्माले पनि करिव २ वर्षअघि दनुवार थरकी युवतीसंग प्रेम विवाह गरेका थिए ।
केटी पक्षले नावालिग छोरी बिहे गरेको आरोप लगाएर उनलाई बलात्कार मुद्दामा जेल पठाए ।
‘दलित युवालाई केटी पक्षले मिलाउने बहानामा ललाईफकाई बोलाए अनि प्रहरी बोलाएर पक्राउ गराए’, स्थानीय दलित अगुवा कुमार मिजारले भने, ‘अहिले उनी झुठो मुद्दामा जेल सजाय काटिरहेका छन् ।’
गत असारमा मोरङकै बुढीगंगा गाउँपालिका-७ डंग्राहका २२ वर्षीय सागरकुमार ऋषिदेव (मुसहर) ले छिमेकी २२ बर्षीया चौधरी थरकी युवतीसंग प्रेम विवाह गरेका थिए । तर, केटी पक्षले जोडीलाई छुटाउन अपहरणको मुद्दा लगाउने प्रयास गरेका थिए । तर, प्रहरीको सुझबुझले मुद्दा भने दर्ता भएन ।
सागरले त्यो घटना सम्झिँदै भने, ‘उमेर पुगेका हामीले राजीखुसी बिहे गर्दा छुट्याउने प्रयास भएको थियो तर विफल भयो ।’
अधिवक्त्ता जयराम सुन्दासले उमेर पुगेर अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई जातकै कारण छुटयाउने प्रयासका घटनाहरु धेरै भइरहेको र खासगरी दलित युवाविरुद्ध बलात्कार, अपरहण, शरीर बन्धक र मानव बेचबिखन जस्ता झुटो मुद्दा लगाएर जेल पठाउने काम भइरहेको बताउँछन् । ‘अन्तरजातीय प्रेम विवाह गर्ने दलितले सास्ती पाउने निश्चित नै हुन्छ’, सुन्दासले भने, ‘कतिपय घटनाहरुमा प्रहरी, प्रशासनकै संलग्नता पनि पाइएको छ ।’
कोशी प्रदेश सभाकी पूर्व सदस्य उमिता बराइलीले अन्तरजातीय प्रेम विवाह गर्दा झुटो मुद्दा लगाएर दलितहरुलाई फसाउने घटनाका विरुद्ध प्रदेश संसदमा पटक–पटक आवाज उठाएकी थिइन् ।
जर्जर रुपमा रहेको जात व्यवस्थाले विपन्न र दलितहरुलाई गल्ती नगरेको घटनामा दोषी करार गरी जेल पठाउने काम भइरहेको उनको दाबी छ। ‘दलितले बिहे गर्यो कि झुठो मुद्दा लगाएर फसाउने परिपाटी मौलाइरहेको छ, यो अमानवीय हर्कत विरुद्ध एकजुट हुन जरुरी छ,' उनले भनिन् ।
