जनकपुर ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा मलेसियामा समस्यामा परेका ५६ नेपाली काममा फर्किएका छन् ।
मलेसियाको एडिके कम्पनीले खान र बस्न समेत नदिएको भन्दै उनीहरूले गुनासो गरेका थिए ।
त्यसपछि एनआरएनए एसिया प्रशान्त उपसंयोजक (डीआरसी) हरि भट्टराईलगायतको पहलमा भएको छलफलका क्रममा विमानस्थल कार्गोमा कामको लागि पुगेका ती ५६ नेपाली कामदारहरू काममा फर्कने वातावरण बनेको हो ।
समस्या समाधान गर्न नेपाली राजदूतावास, भण्डारी ओभरसिजका माधव भण्डारी तथा कम्पनीबीच संयुक्त छलफल भएको थियो । कामदार समस्यामा परेपछि मेनपावरका संञ्चालक भण्डारी मलेसिया पुगेका थिए ।
कम्पनीले बेसिक १५ सय रिंगेट दिने र शुक्रबारदेखि काम सुरु गर्ने गरी सहमति भएको बताइएको छ । डीआरसी भट्टराईले मलेसियामा समस्या परेमा नेपाली राजदूतावास र एनआरएनए साथमा रहेकाको भन्दै सहयोग गर्न सदैव तत्पर रहेको बताए ।
उनले कोरोनाको महामारीमा गैरआवासीय नेपाली संघले मलेसियाको कुना कुनामा रहेका नेपालीहरुको समस्यामा साथ दिएको समेत स्मरण गरे ।