जनकपुर ।
मधेस प्रदेशमा सरकारमा दलहरूले आ-आफ्नो दाबी अनौपचारिक रुपमा प्रस्तुत गर्न थालेका छन् ।
मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल एमाले भएको छ भने दोस्रोमा कांग्रेस छ । त्यसपछि जसपा, लोसपा, जनमत, माओवादी र नेकपा एकीकृत समाजवादी छन् ।
एमालेले १५, कांग्रेसले १३, जसपाले नौ, लोसपाले सात, जनमतले ६, माओवादी र नेकपा एकीकृत समाजवादीले चार– चार सिट जितेका छन् भने स्वतन्त्रले ६ वटा सिट जितेका छन् ।
मधेस प्रदेशमा जसले सरकार बनाए पनि जनमत पार्टीको आवश्यकता पर्नेछ । जनमतले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढाएको सो पार्टीका नेताहरूले बताएका छन् ।
‘अब की बार सीके सरकार’ को नारा दिएर चुनाव जितेको जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व आफैले गर्नेगरी अनौपचारिक छलफल अघि बढाएको छ ।
सरकारको नेतृत्व गर्न नपाए जनतासँग गरिएको प्रतिवद्धता पूरा गराउन गाह्रो हुने भन्दै जनमत पार्टीका नेताहरूले सरकारको नेतृत्व गर्ने गरी दलहरूसँग छलफल सुरु गरेका हुन् ।
सो पार्टीका महासचिव चन्दन सिंहले मधेस प्रदेशमा आफूहरूले सरकारको दाबी गर्ने र त्यसका लागि दलहरूको बीचमा छलफल सुरु भएको बताए ।
‘औपचारिक छलफल सुरु भएको छैन तर विभिन्न दलका नेताहरुसँग अनौपचारिक छलफल सुरु भइसकेको छ,’ उनले भने, ‘जनमतको जति मत आएको छ, त्यसको आधारमा सरकारको दाबी गर्नु जायज नै हो ।
समानुपातिकसहित १३–१४ सिट जनमतसँग हुन्छ, त्यसको आधारमा सरकारको नेतृत्व गर्ने आधार हामीसँग छ ।’
सोही पार्टीका नेता बीपी साहले अन्य दलहरूले गठबन्धन गरेर जिते पनि जनमत पार्टीले एक्लै प्रत्यक्षमा सात सिट ल्याएको भन्दै सरकारको नेतृत्व गर्ने आधार आफूहरुसँग रहेको बताए ।
कांग्रेस, एमाले लगायतका दलहरुसँग सरकार गठनका बारेमा अनौपचारिक छलफल सुरु भएको जानकारी दिँदै उनले अहिलेसम्म सबैले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेको बताए ।
उनले सरकारमा नेतृत्व गर्न जनमतको जबर्जस्त दाबी रहेको प्रस्ट पारे । यदि आफ्नो पार्टीले सरकारको नेतृत्व नपाए विकल्पका बारेमा थप छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
उता, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारको नेतृत्वमा दाबी गरेका छन् । लोसपाले केन्द्रमा गठबन्धन सरकारलाई सघाउने र मधेस प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी छलफल सुरु भएको सो पार्टीका नेता मनिष मिश्रले बताए ।
गठबन्धनका लागि कांग्रेससँग छलफल हुँदा मधेस प्रदेश सरकारको नेतृत्व दिने सहमति भएको सो पार्टीका नेताहरुको दाबी छ ।
त्यस्तै, जसपाले पनि मधेस सरकारको नेतृत्वमा दाबी गर्दै आन्तरिक रुपमा अन्य दलहरुसँग छलफल सुरु गरेको छ ।