जनकपुर :
गोरखा बजारमा सोमबार दिउँसो भएको मिनीट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
बिसौनीमोडबाट पल्टेर भएको ट्रक दुर्घटनामा सवारी धनी तथा चालक उमेश श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत विष्णु खड्काको मृत्यु भएको डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।
श्रेष्ठको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा र खड्काको थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको डीएसपी लामिछानेले बताए ।
आरुघाट घर भएका मृतक श्रेष्ठ भूपू नेपाली सेना पनि रहेका आफन्त संगम श्रेष्ठले जानकारी दिए । उनी स्वयंले सो ट्रक हाँकेका थिए ।
खड्का काम विशेषले गोरखा आएका थिए । मोटरसाइकलमा सवार रहेका उनलाई ट्रकले लतारेर तल्लो गरामा पुर्याएको थियो ।
सो मोटरसाइकलको पछाडि बस्ने बर्दिया घर भएका मंगल चौधरी पनि गम्भीर घाइते छन् ।
ठेगाना नखुलेका वुद्धि नेपाली पनि सिकिस्त छन् । उनीहरु दुवैजना थप उपचारका लागि भरतपुर अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुमा सहिदलखन गाउँपालिका -७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेपेटारकी सावित्री बिक, सहिद लखनकै नारायण भुजेल रहेका छन् । उनीहरुको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ ।
प्रदेश नं. ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो ।
ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भएपनि थप जानकारी नभएको डीएसपी लामिछानेले बताए ।
