.
जनकपुर ।
एकजना १७ वर्षीया नाबालिग बलात्कार अभियोगमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन परेको छ।
उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागर सुन्धाराबाट रिहा भएका उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित महान्यायाधिवक्तको कार्यालयले मंगलबार सर्वोच्चमा निवेदन दिएको हो।
गत पुस २८ गते उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उच्च अदालतको आदेशअनुसार सन्दीप पुस २९ मा रिहा भएका थिए।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले सन्दीपलाई रिहा गर्ने उच्च अदालतको आदेश उल्ट्याएर थुनामै राख्न मागसहित सर्वोच्चमा निवेदन दिइएको बताएका छन्।
‘सन्दीपलाई २० लाख धरौटीमा छोड्ने उच्च अदालतको आदेश कानुनी व्यवस्था र सर्वोच्चले उनी संलग्न जस्तै अन्य मुद्दामा थुनछेकबारे गरेको व्याख्याप्रतिकुल छ', उनले भने, 'हामीले उक्त आदेश अदालतका पुराना व्याख्या प्रतिकुल रहेका दुई आधारसहित सर्वोच्चमा दर्ता गराएका छौँ।'
पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले यसअघि पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएपछि सन्दीप रिहा भएका थिए।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।
.