जनकपुर ।
स्वास्थ्य चौकी क्षेत्र भित्र रहेको जग्गामा बाख्रा चराउन नदिएपछि भएको विवादका क्रममा एक जनप्रतिनिधिसहित उनका परिवारका ३ जनामाथि निर्घात कु-टपिट भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ का वडा सदस्य योगेन्द्र प्रसाद शर्मा, उनका छोरा संजय र बुवा विन्देश्वरलाई सोही वडा निवासी जयनाथ शर्माको अगुवाईमा रहेको समूहले कु-टपिट गरेको घाइते पीडितले बताएका छन् ।
घाइते तीनै जनाको अहिले छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । कु-टपिटबाट वडा सदस्य योगेन्द्र र उनका बुवा विन्देश्वरको शरीर भरी निलडाम देखिएको छ भने उनका छोरा संजयको बायाँ हात भाच्चिएको छ ।
वडा स्थित स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टर निर्माणका लागि जयनाथका बुवाले जग्गा दान गरेका थिए । हाल उक्त जग्गामा स्वास्थ्य चौकी निर्माण कार्य पूरा भएको छ भने वर्थिङ्ग सेन्टर निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आफ्नो बुवाले दान गरेको जग्गामा बाख्रा चराउन गएको बेला नातीलाई हप्काएर स्वास्थ्य चौकीका प्रमुख राजाबाबु मेहता तथा वडा सदस्य योगेन्द्रले फिर्ता पठाइदिएको जयनाथको भनाइ छ ।
आफ्नो बुवाले दिएको जग्गामा बाख्रा चराउन पाउनुपर्छ भन्दै जग्गा दाता छोटकैन शर्माका छोरा जयनाथ शर्माले अडान लिएपछि विवाद सुरु भएको तथा एक्कासी लाठीले आ-क्रमण गरेको घाइते वडा सदस्य योगेन्द्रले बताए ।
उनले स्वास्थय चौकी तथा वर्थिङ्ग सेन्टरको कम्पाउण्ड भित्र हजारौ रकम खर्चेर बनाएको बगैचा बाख्राले नाश गर्न थालेपछि पटक पटक सम्झाउदा पनि अटेर गरेको र बुधवार साँझ उल्टै आ-क्रमणमा उत्रेको बताए ।
स्वाथ्य चौकीका इन्चार्ज राजाबाबु मेहताले जग्गादाता परिवारका जयनाथ शर्मालाई पटक पटक यस चौकी भित्र बाख्रा चराउन न पठाउन अनुरोध गर्दा उल्टै गाली गलौजमा उत्रिने गरेको बताए ।
घाइतेको तर्फबाट बिहीवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा जयनाथ, उनका छोरा मनोज तथा कु-टपिटमा संलग्न उनकै परिवारका अन्य सदस्यहरु विरुद्ध जाहेरी दिएको वडा अध्यक्ष जय प्रकाश ठाकुरले बताए ।
उनले यस अघि पनि पटक पटक जग्गादाता परिवारका जयनाथले स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टर कम्पाउण्ड भित्र बाख्रा चराउन बालबालिकालाई पठाउने गरेको र रोक्न खोज्दा आफूलाईसमेत जयनाथले गाली लगौज गर्ने गरेको सुनाए ।
यता जग्गादाता परिवारका आरोपित जयनाथले वड सदस्य योगेन्द्रसहितको टोलीले सुरुमा आफूहरुमाथि नै आ-क्रमणको प्रयास गरेको र प्रतिकार गर्दा उनीहरुलाई सामान्य चोट लागेको दाबी गरेका छन् । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
