ad
जनकपुर —
एकैघरका तीन जनाको मृत्यु हुने गरी ठक्कर दिएका कार चालकलाई रुपन्देही प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।
छठ पूजाका लागि नदी किनारतर्फ जाँदै गरेका पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालक रुपन्देही रोहिणी गाउँपालिका–३ धकधईका २३ वर्षीय अजयकुमार चौधरी र घटनामा प्रयोग भएको कारलाई प्रहरीले सिद्धार्थनगर नरपालिका पिपरैया भन्ने स्थानबाट पक्राउ गरेको हो ।
सोमबार बिहान करिब ५ बजे रुपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीस्थित भैरहवा–लुम्बिनी सडक खण्डमा कारको ठक्करबाट ३ जनाको मृत्यु भएको थियो । दुईजना घाइते भएका थिए । घाइतेमध्ये अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले तीव्र गतिका कारण उक्त कारले स्थानीयलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।
चौधरीले चलाएको बा ८ च ६५३२ नम्बरको कारले ठक्कर दिँदा दुई महिनाका बालक श्रीराम कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीय सीमा कुर्मीको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरु एकै परिवारका हुन् ।
घटनामा २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका थिए । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । बन्दनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले यात्रुलाई ठक्कर दिएको कारको अगाडिको बम्परको भागको टुक्रा, वाइपरको भाँचिएको टुक्रा र लुकिङ ग्लासको टुक्रा बरामद गरेको थियो ।
बरामद सामानको आधारबाट अनुसन्धान गर्दा र स्थानीयको सहयोगबाट घटनामा संलग्न कार र चालकलाई पक्राउ गर्न सफल भइएको एसपी रेग्मीले बताए ।
उनीविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान र सवारी ज्यान मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको रेग्मीले बताए ।