जनकपुर ।
सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्या भएको छ ।
सिरहाको भगवानपुर गाउँपालिका–२ घर भएर सप्तरी स्थित बोर्डर आउटपोष्ट छिन्नमस्तामा कार्यरत यादव असोज २० मा मृत भेटिएका थिए ।
नेपाल–भारत सिमानाबाट ३ किलोमिटर पर भारततर्फ बिहारको मधुवनी जिल्ला स्थित घोडदह खोलामा यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश सिंहले रातोपाटीलाई बताए ।
डिएसपी सिंहका अनुसार हत्यामा संलग्न आशङ्कामा सो बोर्डर आउट पोष्ट (विओपी) मा कार्यरत जवान होम बहादुर खत्रीलाई पक्राउ गरिएको छ ।
मृतक असईको शव धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ । घटना छानबिनका लागि सशस्त्र प्रहरी बलले अतिरिक्त महानिरीक्षक (एआईजी) सिपी गौतमको नेतृत्वमा समिति गठन गरेको छ ।
गौतम कार्य विभागको प्रमुख हुन् । समितिमा डिआईजी कुलबहादुर नेम्वाङ र एसपी छविलाल पाण्डे सदस्य छन् ।
छानबिनका लागी सशस्त्र प्रहरी बल गण नम्बर–६ का गणपति (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर फिर्ता बोलाएको छ ।
एसपी खड्कालाई फिर्ता बोलाइएको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई जानकारी दिए ।
असोज १९ मा मृतक यादव ड्युटीका लागि भन्दै मोहनपुरतर्फ गएका थिए । त्यसै दिन जवान खत्रीले एक युवती बोलाएर हत्या गरेर फालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
मृतकको कान र टाउकोमा चोट देखिएको एसएसपी थापाले बताए ।