जनकपुरधाम ।
राजा जनककी कुल देवी भनिएकी हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र राजदेवी मन्दिरमा आजदेखि खोइच भराई कार्यक्रम सुरु भएको छ ।
महिलाहरुले गरेको भाकल अनुसार आजै विहानदेखि खोइच भराई कार्यक्रम सुरु हुने भएको छ भने प्रसाद (लड्डु चढाई) पनि आजैदेखि सुरु हुने भएको महावीर युवा कमिटिले जनाएको छ ।
लड्डु अर्थात प्रसाद चढाउने कार्यक्रम आजदेखि सुरु भई भोली दिउँसोसम्म समाप्त हुने जनाइएको छ । बली प्रदान कार्यक्रमको तयारीको लागि भोली सोमबार अष्ठमी तिथिको १२ बजे दिउँसोसम्म मात्र मन्दिरमा प्रसाद चढाउने कार्यक्रम राखिने भएको छ ।
आज बिहान ८ बजे माता राजदेवीको बेलतोरी कार्यक्रम रहेको कमिटिका कोषाध्यक्ष विकाश कुमार रायले जानकारी दिए । आजै साँझ ७ बजे राजदेवीको भव्य श्रृँगार कार्यक्रम राखिएको जनाइएको छ ।
राजदेवीमा बुधबार दशमीको दिन महाप्रसाद कार्यक्रम राख्दै आएको छ । यस्तै दशमी अर्थात विजया दशमीको दिन रावण वध कार्यक्रम राखिदै आएको छ ।
यसपाली पनि बुधबार गँगासागर र धनुषसागर पोखरीको डिलमा भव्य तवरले रावण बध कार्यक्रम राखिने कोषाध्यक्ष रायले जानकारी दिए ।
खोईच भराईको लागि महिलाहरुको लाम लागेको छ भने प्रसाद चढाउनेहरुको पनि ठुलो लाइन मन्दिरमा लागेको छ ।
गुठी सँस्थान जनकपुरले प्रत्येक बोकाको टाउको वापत लिँदै आएको रकम यसपाली प्रति टाउको २०० रुपैयाँ तोकेको छ ।
सँस्थानले खसी बोकाको रसिद काटने कार्य सुरु गरेको छ भने रसिद नभएकाहरुले लाईनमै रसिद कटाएर बोकाबली गराउन सक्ने सुविधा मिलाएको हो ।
राजदेवीमा प्रत्येक वर्ष हजारौँको सँख्यामा बोकाबली हुँदै आएको छ । यद्यपी, केही एनजिओ, आईएनजिओहरुले प्रत्येक वर्ष बलीप्रथाको विरोध पनि गर्दै आएको छ ।