जनकपुर । पोखराबाट काठमाडौं उडानको तयारीमा रहेको बुद्ध एयरको उडान नं. ६५२ मा सवार एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका छन्। अचानक ढोका खोलेपछि उक्त उडान रोकेर छानबिन थालिएको छ।
बिहीबार बिहान ९ बजे यात्रु बोर्डिङ लगत्तै ट्याक्सी-वेमा इन्जिन स्टार्ट गर्ने क्रममा ती यात्रुले इमर्जेन्सी ढोका खोलेको बुद्धका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए। ढोका खोले पनि कुनै घटना भने भएन।
विमानमा सवार म्याग्दीका भिम परियारले झुक्किएर ढोका खुल्न गएको बताएको कम्पनीले जनाएको छ।
आकस्मिक अवस्थाबाहेक उक्त ढोका खोल्न पाइँदैन। घटनाबारे कम्पनीसँगै विमानस्थल कार्यालयले पनि अनुसन्धान गरिरहेको छ।
‘यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन्। इमर्जेन्सी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन्,’ उनले भने।
प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौं ल्याउने तयारी भइसकेको उनले बताए।
उनका अनुसार उक्त जहाजमा ६९ यात्रु थिए।

