.
जनकपुर ।
सिराहाको गोलबजार नगरपालिका– ५ स्थित शनिबार अपराह्न माँ धमिनी इँटा उद्योगको काँचो इँटा पकाउने भट्टीको पर्खाल भत्किँदा ६ जना मजदुर घाइते भएका छन्।
घाइते हुनेहरूमा स्थानीय ४२ वर्षीय रामविलास सदाय, ३९ वर्षीय देविया सदा, १६ वर्षीय चन्दन सदा, २२ वर्षीय मोदिया सदा, विजय सदा र नरहाका जयनाथ सदा छन्। इलाका प्रहरी कार्यालय गालबजारका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले गम्भीर अवस्थाका एकजनालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको जानकारी दिए।
प्रहरी निरीक्षक बुढाथोकीका अनुसार घाइते भएकाहरूको स्थानीय लाइफलंग हेल्थ केयर प्रालिमा उपचार गरिएको छ। एक मजदुरको तीघ्रा गम्भीर चोट रहेकोले चिकित्सकले धरान रेफर गरेका हुन्।
काँचो इँटा पकाउने भट्टीको पर्खाल पुरानो र जीर्ण भएकाले भत्किएको हुन सक्ने अनुमान गरिएको छ।
गोलबजार आसपास क्षेत्रमा दुई दर्जनभन्दा बढी इँट्टा उद्योगहरू भए पनि मजदुरको सुरक्षा प्रबन्ध नहुँदा बर्षेनि दुर्घटना हुने र मजदुरको मृत्यु तथा घाइते हुने गरेको छ।
.
.
.
.
