जनकपुर ।
गत मंगलबार मालिकार्जुन गाउँपालिका– २ न्वालपानीकी १८ वर्षीया एक किशोरीलाई सुत्केरी बेथा लाग्यो ।
पहिलोपटक सुत्केरी हुन लागेकी किशोरीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन गाउँभरि खोज्दा पनि स्ट्रेचर भेटिएन ।
८० परिवारको बसोवास रहेको गाउँमा एउटा पनि स्ट्रेचर नभेटिएपछि स्थानीयले राति नै काठमा डोरी बाँधेर स्ट्रेचरजस्तो बनाएर गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पुर्याए ।
स्थानीय प्रकाशसिंह धामीले सुत्केरी बेथा लागेपछि काठमा डोरीको स्ट्रेचर बनाएर स्वास्थ्य संस्थामा पुर्याउनुपरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरे । यतिवेला उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मालिकार्जुन गाउँपालिका– २ का साबिकका ६ वटा वडाका बस्तीहरूमा स्ट्रेचर नहुँदा बिरामी र गर्भवती बोक्न समस्या हुने गरेको छ ।
विगतमा खरिद गरिएका स्ट्रेचर बिग्रिएपछि अहिले गाउँमा समस्या भएको हो । न्वालपानीबाट स्वास्थ्यचौकी ठिङ आउन करिब दुई घन्टा लाग्छ ।
गाउँमा स्ट्रेचर नपाएपछि सुत्केरीलाई स्वास्थ्य संस्था पुर्याउन ‘डोरीको स्ट्रेचर’ बनाउनुपरेको प्रकाशले सुनाए ।
स्वास्थ्यचौकी इन्चार्ज राजीव भट्ट स्वास्थ्यचौकीमा समेत स्ट्रेचर नभएको बताउँछन् ।
उनले भने, ‘साबिकका ६ वटै वडाका बस्तीमा एक–एकवटा स्ट्रेचर दिइएको थियो । अहिले सबै ठाउँमा स्ट्रेचर अभाव भएको छ ।
विगतमा दिइएको स्ट्रेचर बिग्रिएकोबारे हामीलाई जानकारी पनि थिएन ।’ स्वास्थ्यचौकीबाट स्ट्रेचर कसलाई जिम्मा दिने भन्ने अन्याेल हुने गरेको उनले सुनाए ।
वडाध्यक्ष गणेशसिंह धामी विगतमा आफूले सबै बस्तीलाई पुग्ने गरी स्ट्रेचर खरिद गरेर दिएको बताउँछन् । ‘पहिले दिएको स्ट्रेचर बिग्रिएकोबारे जानकारी भएन ।
अहिले स्वास्थ्य संस्था र गाउँबस्तीमा स्ट्रेचर नभएको जानकारी पाएलगत्तै खरिद प्रक्रिया अघि बढेको छ । स्ट्रेचर मगाइसकेका छौँ,’ उनले भने, ‘आइपुग्नेबित्तिकै गाउँबस्ती र स्वास्थ्यचौकीमा स्ट्रेचर अभाव हट्छ ।’
