सिरहा— सिरहा कारागारमा पटक–पटक दोहोरिँदै आएको हिंसा र अवैध गतिविधिलाई लिएर युवा अभियन्ता मो. नइम राईनले गम्भीर प्रश्न उठाएका छन्। उनले यो घटनालाई सामान्य आपराधिक गतिविधि नभई राज्यको प्रशासनिक असफलताको संकेत भएको बताएका छन्।
राईनले सार्वजनिक धारणा राख्दै भने, “यस्ता घटना बारम्बार किन भइरहेका छन्? कारागारभित्र समानान्तर सत्ता कसरी चलिरहेको छ? यसको जरोसम्म पुगेर सत्य पत्ता लगाउनैपर्छ।” उनका अनुसार कारागारभित्र कैदीबन्दीबाट मासिक करिब २० लाख रुपैयाँ असुली हुने गरेको चर्चा अत्यन्त चिन्ताजनक छ। “यो रकम कसले उठाउँछ? कसको खल्तीमा जान्छ? निष्पक्ष छानबिनबिना सत्य बाहिर आउँदैन,” उनले जोड दिए।
हालै जिल्ला सुरक्षा निकायको संयुक्त टोलीले गरेको सर्च अपरेसनमा बन्दुक, गोलीसहित १३ जना कैदीबन्दी पक्राउ पर्नुले कारागारभित्र आपराधिक संरचना गहिरो रूपमा जरा गाडेको तथ्य उजागर गरेको राईनको भनाइ छ। उनले प्रश्न गरे, “हतियार कारागारभित्र कसरी पुग्यो? कसको संरक्षणमा यस्तो सञ्जाल बन्यो? कारागार प्रशासनको भूमिका के हो?”
जेलर सुबोध महतोमाथि उठेका आरोपलाई समेत गम्भीर रूपमा लिनुपर्ने उनको माग छ। “यो कुनै एक व्यक्तिको मात्रै विषय होइन, सिंगो प्रणालीको विफलता हो। दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभ्याउनुपर्छ,” राईनले बताए।
उनले राज्यसँग तत्काल निम्न कदम चाल्न माग गरेका छन्—
स्वतन्त्र र उच्चस्तरीय छानबिन समिति गठन,
दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही,
कारागार सुधारको दीर्घकालीन योजना,
कैदीबन्दीमाथि हुने अवैध असुलीको तत्काल अन्त्य।
राईनका अनुसार कारागारभित्रको अराजकता, भ्रष्टाचार र आपराधिक संरचनाको अन्त्य नभएसम्म समाज सुरक्षित हुन सक्दैन। “सिरहाले शान्ति, सुशासन र न्याय खोजिरहेको छ। यो आम नागरिकको आवाज हो,” उनले भने।
स्थानीय नागरिक तथा अधिकारकर्मीहरूले पनि घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषी सार्वजनिक गर्न सरकारसँग माग गरिरहेका छन्।
