श्रीकेश यादव
जनकपुर । विश्वकर्मा पूजाको अवसरमा कमला नगरपालिका–८ हरिनेस्थित कबिर चौकमा यस वर्षदेखि कबिर बजार स्थापना भएको छ। भव्य कलश यात्रासहितको र्याली र गाउँबासीको सक्रिय सहभागितामा मेला शुभारम्भ गरिएको हो।
युवाहरुको पहलमा चन्दा संकलनमार्फत मेलालाई सभ्य र भव्य बनाउन भूमिका खेलिएको छ। मेलाको सुरक्षा र अनुशासन कायम राख्न १० सदस्यीय समिति गठन गरिएको छ, जसले रातभर खटेर शान्ति र सद्भाव कायम गर्ने प्रतिबद्धता मेला समितिले जनाएको छ।
मेला समितिले समाजलाई सन्देश दिने उद्देश्यले आफ्नो धारणा सार्वजनिक गरेको छ – सबै समान छन्, एकताको संस्कार जोगाऔं, युवा समाजको मेरुदण्ड हुन्, सुरक्षा हाम्रो जिम्मेवारी हो, सहयोग र सद्भाव हाम्रो संस्कार हो।
आयोजकका अनुसार यो मेला जातपात वा दलगत विभाजन बिना सबैको साझा पहिचान बनेको छ र स्थानीय स्तरमै समानता, एकता र सद्भावको प्रतीकको रुपमा विकास भएको छ।
