काठमाडौं : एमाले नेता महेश बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देश निकाला गर्ने धम्की दिएका छन्।
युवा संघले बिहीबार काठमाडौंको तीनकुनेमा गरेको कार्यक्रममा एमाले नेता बस्नेतले पूर्वराजा ज्ञानेन्द्रलाई ‘निर्मल निवासमा बस्न मन छ कि छैन?’ भनेर धम्की दिएका हुन्।
निर्मल निवास तत्कालीन सरकारले राजालाई बस्न दिएको भवन हो।
‘जुँगा मुठारेर बसेका ज्ञानेन्द्र तिमीलाई निर्मल निवासमा मन छ कि छैन?,’ उनले भने, ‘निर्मल निवासमा बस्न मन छैन भने बहुला दुर्गा प्रसाईंको पछि लाग। एमालेले आर्शिवाद दिएर जिताएको राजेन्द्र लिङ्देनले पछि लाग।’
उनले अगाडि थपे, ‘एमाले र लोकतन्त्रवादी शक्ति तिम्रो पक्षमा लागे भने निर्मल निवासबाट तिम्लाई संरक्षण गर्ने विदेशी दलालको मुलुकमा पठाउन नपरोस्।’
बस्नेतले अराजकतावादी तत्वहरूले नेपाललाई भारतमा मिसाउने योजना बनाइरहेको आरोप लगाए।
उनले थपे, ‘अराजकतावादी तत्वहरू नेपाललाई भारतमा मिसाउने भन्दैछन्। ५० हजारमा मोटरसाइकल पाइन्छ भन्दैछन्, दुई लाखमा गाडी पाइन्छ भन्दैछन्।’
नेपालमा नौटंकी राजाहरूको जमघट हुने र राजैराजाहरूबीच झगडा पर्ने उनको दाबी छ।
‘अराजकतावादी तत्वहरु ज्ञानेन्द्रलाई राजा बनाउने भन्दैछन्, उता हर्क साम्पाङ मै हुन्छु राजा काँ तिमीहरूलाई दिन्छु भन्दैछ। बालेन्द्र शाह म पो हुने हो त राजा भन्दैछ। काठमाडौं उपत्यकाभित्र मल्ललाई पो ल्याउनुपर्छ भनेर चियापसलमा छलफल हुन थालेको छ। नेपालमा नौटंकी राजाहरूको जमघट हुँदैछ र राजै राजाहरूको बीचमा झगडा पर्दैछ।’
युवा संघले तीनकुनेमा प्रदर्शन गर्दा राजावादीहरूलाई समर्थन गर्दै दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन भने बल्खुमा भइरहेको छ।
