जनकपुरधाम । रौतहटमा सुटकेसमा शव फेला परेदेखि सनसनी फैलिएको रुबी साहको हत्या प्रकरणको अनुसन्धान फाइल बन्द हुने अवस्थामा पुगेको छ । रुबीको हत्याका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएसँगै सो घटना सम्बन्धी फाइल बन्द हुने अवस्थामा पुगेको हो ।
लक्ष्मणको बुधबार साँझ ६ बजे काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताए ।
चार दिनदेखि प्रहरीको तिव्र खोजीमा रहेका हत्या आरोपी पासवान बुधबार बिहान ७ बजेतिर रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
उनले आत्महत्या गर्न आफैंले जिउमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका थिए । प्रहरीले नियन्त्रणमा लिएर उपचारको लागि उनलाई गौर ल्याएको थियो । त्यहाँबाट थप उपचारको लागि काठमाडौंको किर्तिपुरस्थित वर्न अस्पताल पठाइएको थियो ।
मुख्य आरोपी पासवानकै मृत्यु भएकाले उनको हत्याको फाइल नै बिस्तारै बन्द हुने अवस्थामा जाने रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए ।
‘अहिले घटना अनुसन्धानकै क्रममा छ । मुद्दा दर्ता त हुन्छ नै । हत्या घटनामा अन्यको संलग्नता बारे पनि अनुसन्धान गर्दैछौं । तर हत्यामा लक्ष्मण मात्रै संलग्न भएको पाइए बिस्तारै फाइल क्लोज हुन्छ,’ एसपी गिरीले भने ।
सुटकेसमा शव फाल्ने ई–रिक्सा चालक राजकुमार महरा पनि अहिले प्रहरी हिरासतमै छन् । उनीमाथि समेत प्रहरीले अनुसन्धान जारी राखेको छ । ‘हत्या घटनामै रिक्सा चालक त दोषी देखिँदैन । हेरौं अनुसन्धानको क्रममा के हुन्छ,’ रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले भने ।
हुन त हत्या आरोपी लक्ष्मण पासवानले नै आफ्नो जिउमा आगो लगाएर आत्महत्या गर्नुअघि भिडियो बनाउँदै आफूले नै रुबीको हत्या गरेको स्वीकारेका छन् ।
‘रुबीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ । म पनि रुबी कहाँ नै जान्छु,’ उनले भिडियोमा भनेका छन् ।
उनले रुबी र आफूबीच ६ कक्षादेखि नै प्रेम सम्बन्ध रहेको, दुईपटक विवाह समेत गरेको खुलाइसकेका छन् । तर आफू गरिब भएकै कारण रुबीको आमाले स्वीकार नगर्दा यो स्थिति आएको पनि उनले भिडियोमा भनेका छन् ।
माधव नारायण नगरपालिका- ६ माधवपुर माइत भएकी रुबीको भारतको बिहारस्थित मुजफ्फरपुरमा बिहे भएको थियो । लक्ष्मणको घर र रुबीको माइती घर एउटै गाउँमा हो । रुबी केही महिनादेखि गौरमा डेरा लिएर आफ्ना ४ वर्षीया छोरालाई पढाउँदै थिइन् ।
लक्ष्मणका पनि दुई छोरा छन् । वडा नम्बर ६ का वडाध्यक्ष रामनरेश यादवका अनुसार लक्ष्मण करिब ७ महिना अघि विदेशबाट फर्केका थिए । रुबीको शव राखेर फालेको सुटकेस उनले विदेशबाटै ल्याएका थिए । उनी जगरनाथ पासवानका एक मात्र छोरा थिए । गौरमा डेर लिएर लक्ष्मण बसिरहेको कुरा घटनापछि मात्र खुलेको उनको भनाइ छ ।
उनका अनुसार केही लेनदेनको कारण रुबीको माइतको परिवार केही वर्षदेखि गाउँमा बसिरहेका छैनन् । उनको घर भएको घडेरीबाहेक केही छैन ।
