जनकपुर । टिकटकजस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरिएको प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको बीबीसीलाई बताए।
“म तीनलाई सोसल होइन एन्टी सोसल मिडिया भन्छु। तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन्,” रायमाझीले भने।
आदानप्रदानका लागि प्रयोग भइरहेको र त्यसले धेरै नेपाली नागरिकहरूलाई असर पारेको आफूहरूको प्रारम्भिक अध्ययनबाट पाइएको रायमाझीले बताए।
प्रधानमन्त्री कार्यालयले त्यसबाहेक थप एपहरूबारे पनि निगरानी भइरहेको जनाएको छ।
टिकटकपछि अरु एपहरू पनि बन्द हुँदैछन्?
रायमाझी यी एपहरू अहिल्यै बन्द गर्न सिफारिस गर्ने भन्दा पनि निगरानीमा राखिएको बताउँछन्।
“अहिले हामीले नजिकबाट निगरानी गरिरहेका छौँ। यसका सबै पक्षहरूको अध्ययनपछि प्रतिवेदन नै बनाएर सार्वजनिक गर्छौँ,” उनले भने।
“यसबाट के निष्कर्ष आउँछ। अहिलेसम्मको अध्ययनले के देखाउँछ भने यी गलत छन्, बन्द हुनुपर्छ भन्ने नै लागेको छ।”
कतिपय यस्ता एपहरूबाट आर्थिक अपराधसमेत भएको दाबी प्रधानमन्त्रीको सचिवालयको छ।
“प्रारम्भिक रूपमा हामीले सकारात्मक पक्ष दुई प्रतिशत भेट्टायौँ भने नकारात्मक ९८ प्रतिशत भेट्टाएका छौँ। त्यसका आधारमा हामीले सिफारिस गर्ने त बन्द गर्ने भन्ने नै हुन्छ,” रायमाझीले भने।
उनका अनुसार यसअघि नै सरकारले बन्द गर्ने प्रयास गरेका पब्जी र फ्री फायर जस्ता एपहरू पनि निगरानीमा छन्।
