जनकपुर । धनुषामा चोरीको आरोपमा पक्राउ परेका एक युवक प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा भेटिएका छन्।
धनुषाको कमला नगरपालिका–८ सोनापाडा निवासी अन्दाजी २२ वर्षीय सुभाष कुमार यादवलाई बिहीबार राति चोरीको आरोपमा इलाका प्रहरी कार्यालय यदुकुहाले पक्राउ गरेको थियो।
शुक्रबार साँझ उनी हिरासतको कोठामै आफ्नै कपडा प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार प्रहरीको निगरानीमा रहेका यादवलाई समयमै देखेर बाहिर निकालिएको र तत्काल उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पताल पुर्याइएको हो। हाल उनी आईसीयूमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको रेग्मीले जानकारी दिए।
ईलाका प्रहरी कार्यालयका इन्चार्ज ओम प्रकाश यादवको टोलीले घटनापछि तुरुन्तै उद्धार गरी अस्पताल पुर्याएको र उपचारपछि अवस्था सुधार आएको बताइएको छ।
