जनकपुरधाम— जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरीमा सोमबार राति खुकुरी प्रहार गरी एक बालिकाको हत्या गरिएको छ भने दुई महिला गम्भीर घाइते भएका छन्।
धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी १४ वर्षीया अञ्चली यादवको खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको हो। घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र उनकी १५ वर्षीया भतिजी राधा यादव घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।
घटनास्थल जनकपुर–४ मा रहेको सूर्यनन्द चौधरीको एकतले पक्की घर हो, जहाँ पीडित परिवार डेरा गरेर बस्दै आएको थियो। प्रहरीका अनुसार राति करिब साढे ११ बजेको समयमा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गरेका थिए।
घटनामा अञ्चलीको घाँटी काटिएको थियो भने उनकी आमा आशाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। भतिजी राधाको दाहिने खुट्टा र हातमा समेत गम्भीर चोट छ। अञ्चली जनकपुरमा आमासँग डेरा गरी बसेर अध्ययनरत थिइन्।
प्रहरी अनुसन्धानबाट खुलेको तथ्यअनुसार अभियुक्त रामबाबु साह यसअघि पनि आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्षको जेल सजाय भोगिसकेका थिए। अहिले उनी फरार छन्।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदीले घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै आरोपीको खोजी तीव्र रूपमा भइरहेको जानकारी दिएकी छन्।
