आयुब हुसेन , जनकपुरधाम, कमला नगरपालिका वडा नं. १ स्थित हथलेटवा खेलमैदानमा आयोजना गरिएको पहिलो मेयर कप नगरस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको दोस्रो खेल वडा नं. १ र वडा नं. ४ बीच सम्पन्न भयो।
टस जितेर पहिले बलिङ गरेको वडा नं. ४ ले एक विकेट प्राप्त गर्दै शानदार जित हात पार्न सफल भयो। वडा न १ ले १४४ रनको लक्ष्य दिएको थियो।
खेलमा शानदार प्रदर्शन गरेका वडा नं. ४ का खेलाडीहरू उत्साहित देखिए। खेलपछि युवा खेलाडी कप्तान जहिद राइनले भने, “आज हाम्रो पहिलो खेल थियो। हामी अझै राम्रोसँग खेल्नेछौं र फाइनलसम्म पुग्ने छौं।
खेलप्रेमी स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति र उत्साहले प्रतियोगिता स्थलमा रमाइलो माहोल बनाएको थियो।
कमला नगरपालिकाका मेयर विशेश्वर यादवले उद्घाटन सत्रमा बोल्दै आगामी दिनमा खेललाई अझ व्यवस्थित, पारदर्शी र त्रुटीरहित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले खेलकुदमार्फत स्थानीय युवाहरूमा सकारात्मक ऊर्जा र नेतृत्व विकास हुने विश्वास व्यक्त गरे।
आयोजक समितिका अनुसार प्रतियोगितामा जम्मा ९ वटा खेल समावेश गरिएको छ, जुन आगामी चार दिनभित्र सम्पन्न गरिने योजना रहेको छ।
