काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रत्यक्ष चुनौती दिँदै राजतन्त्र पुनर्स्थापनाको सपना देख्ने हो भने सिधै राजनीतिक मैदानमा उत्रन आह्वान गरेका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपालमा राजसंस्थालाई संवैधानिक बनाउने कल्पना असम्भव रहेको जिकिर गरे। उनले भने, “नेपाली कांग्रेस कहिले काहीँ राजावादीजस्तो देखिए पनि नेपालका राजाहरू भने कहिल्यै राजावादी भएनन्, उनीहरू सधैं राजतन्त्रवादी मात्रै रहे।”
उनले स्पष्ट पारे, नेपालको सन्दर्भमा बहस संवैधानिक राजसंस्था वा गणतन्त्रको बीचमा होइन, बरु राजसंस्था नै रहने कि पूर्ण गणतन्त्र कायम राख्ने भन्नेबीचमा हुनु पर्नेछ।
थापाले पूर्वराजा ज्ञानेन्द्रलाई सिधा प्रश्न गर्दै भने, “यदि उहाँ साँच्चिकै राजतन्त्र फर्काउन चाहनुहुन्छ भने लुकिछिपि होइन, मैदानमा आउनुस्। नेपाली जनताको सामना गर्नुस् र भन्नुस्— म राजा भएर फर्कन्छु। त्यसपछि मात्रै जनताले यो बहसलाई गम्भीरतापूर्वक लिन्छन्।”
उनले राजतन्त्र फर्केपछि के गर्ने, योजनाहरू के छन् भन्नेबारे स्पष्ट खाका दिनुपर्ने मागसमेत गरे।
त्यसैगरी, पार्टीभित्रको नेतृत्वको सन्दर्भमा बोल्दै थापाले वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा आगामी एक वर्षभित्र प्रधानमन्त्री बन्ने चर्चा चलिरहेको बताए। तर, उनले देउवाभन्दा सक्षम नेतृत्व गर्ने दर्जनौँ नेता कांग्रेसमै रहेको दाबी गरे। “उहाँभन्दा पनि पार्टीमा धेरैजना छन् जो राम्रो प्रधानमन्त्री चलाउन सक्छन्,” थापाले भने।
थापाको उक्त भनाइले नेपाली कांग्रेसभित्रको भावी नेतृत्व र राजतन्त्र सम्बन्धी बहसलाई थप चर्काउने संकेत देखिएको छ। न्युज एजेन्सी नेपाल
