काठमाडौँ — हाल छिमेकी राष्ट्र भारतमा कोभिड–१९ का चार नयाँ उप–प्रजातिहरू पत्ता लागेका छन्, जसले कोरोना महामारी फेरि फर्कने हो कि भन्ने आशंका उत्पन्न गरेको छ। भारतीय चिकित्सा अनुसन्धान परिषद् (ICMR) अनुसार, एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ नामक नयाँ भेरियन्टहरू फेला परेका हुन्।
तमिलनाडुमा एनबी.१.८.१ को एक केस र गुजरातमा एलएफ.७ का चार केस पुष्टि भएका छन्। पछिल्लो सात दिनमा भारतमा ७८७ नयाँ संक्रमित भेटिएका छन् र १२ जनाले ज्यान गुमाएका छन्। भारतभर सक्रिय संक्रमितको संख्या हजार नाघिसकेको छ, जसमा अधिकांश जेएन.१ र ओमिक्रोन समूहका छन्।
यी नयाँ भेरियन्टहरू कत्तिको खतरनाक छन्?
एलएफ.७ र एनबी.१.८.१ भेरियन्टहरू ओमिक्रोन परिवारबाट विकसित भएका हुन्। यीमा केही नयाँ स्पाइक प्रोटिन उत्परिवर्तन (mutation) देखिएका छन्, जसले गर्दा तिनीहरू छिटो फैलिन सक्छन् र पहिलेको प्रतिरोध क्षमता छल्न सक्ने सम्भावना देखिएको छ।सबैभन्दा बढी जोखिममा को छन्?
यद्यपि हालसम्म यी भेरियन्टहरूसँग सम्बन्धित लक्षणहरू सामान्य छन्, केही समूहहरूमा जोखिम उच्च रहन सक्छ:- नवजात शिशु तथा बालबालिका
- ६० वर्षभन्दा बढी उमेर समूह
- रोग प्रतिरोध क्षमता कमजोर भएका व्यक्ति
- दम, मधुमेह, मुटु तथा अन्य पुराना रोगबाट पीडित
- गर्भवती महिला
के फेरि महामारी आउन सक्छ?
विश्व स्वास्थ्य संगठन (WHO) ले यी भेरियन्टहरूलाई हाल ‘निगरानीमा रहेका भेरियन्ट’ को रूपमा वर्गीकृत गरेको छ। यसको अर्थ तत्काल विश्वव्यापी महामारीको खतरा भने देखिएको छैन। तथापि, संक्रमण दर उच्च भएकाले नियमित निगरानी भइरहेको छ।नयाँ भेरियन्ट कुन-कुन देशमा फेला परेका छन्?
एनबी.१.८.१ भेरियन्ट हालसम्म २२ देशमा फेला परेको छ। भारत, अमेरिका, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र सिंगापुरमा केसहरू रिपोर्ट गरिएका छन्। अमेरिकामा विमानस्थल जाँचमार्फत क्यालिफोर्निया, वासिङ्टन, भर्जिनिया र न्यूयोर्क राज्यहरूमा संक्रमण पुष्टि भएको छ।लक्षणहरू कस्ता देखिन्छन्?
यी भेरियन्टका लक्षणहरू अघिल्ला ओमिक्रोन भेरियन्टसँग मिल्दोजुल्दो छन्:- घाँटी दुख्ने वा खस्रो महसुस हुने
- सुक्खा खोकी
- ज्वरो
- नाक बन्द हुने
- टाउको दुख्ने
- पेट गडबडी (ग्यासट्राइटिस)
- स्वाद वा गन्ध हराउने
खोपको प्रभावकारिता कति?
हालसम्म यी भेरियन्टहरूका लागि विशेष खोप बनाइएको छैन। यद्यपि, यिनले पुराना खोपहरूबाट विकसित प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने भए तापनि गम्भीर संक्रमण वा अस्पताल भर्ना हुने दर कम देखिएको छ। कमजोर प्रतिरक्षा भएका व्यक्तिहरूले बूस्टर डोज लिन सक्ने सल्लाह दिइएको छ।संक्रमण देखिएमा के गर्ने?
कोरोना लक्षण देखिएमा:- तुरुन्त परीक्षण गर्नुहोस्
- अन्य व्यक्तिसँगको सम्पर्क सीमित गर्नुहोस्
- आवश्यक परेमा चिकित्सकसँग परामर्श गर्नुहोस्
- आत्तिनु होइन, तर सतर्क रहनु आवश्यक छ
परीक्षण र पहिचान कसरी हुन्छ?
RT-PCR परीक्षणले कोभिड संक्रमण पुष्टि गर्न सक्छ, तर कुन भेरियन्ट हो भन्ने पहिचान गर्न जीनोम सिक्वेन्सिङ आवश्यक हुन्छ।नयाँ भेरियन्टबाट कसरी बच्ने?
पहिल्यै अभ्यासमा आएका सावधानी उपायहरू अझै पनि प्रभावकारी छन्:- साबुन-पानी वा स्यानिटाइजरले हात धुने
- भिडभाडमा मास्क लगाउने
- लक्षण भएका व्यक्तिहरूसँग दूरी कायम राख्ने
- सतहहरूको नियमित सफाइ
- सन्तुलित आहार, पर्याप्त पानी सेवन र आराम
