काठमाडौं । पेस्तोल डान्सको भिडिओ भाइरल भएपछि जसपा नेतृ डा. बबी सिंह यादवले खेलौना बन्दुक भएको स्पष्टीकरण दिएकी छन् ।
एक विवाह समारोहमा आफूले रेन्जर टोई नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित बनाइएको उनको भनाई छ ।
उनले भनेकी छन्, ‘केहि समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । एक वैवाहिक समारोहकाबीच मैले रेन्जर टोइ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनहुन यहाँ सम्पूर्णमा अनुरोध एवं आग्रह गर्दछु ।’
साथै उनले सो भिडियो नितान्त मनोरञ्जनात्मक मात्रै भएको बताएकी छन् ।
के भन्छिन् बबीसिंह ?
यद्यपि, डा. बबीसिंह यादवले भाइरल भइरहेको भिडियो हप्ता दिनअघि भारतमा भएको एक वैवाहिक समारोहको भएको बताएकी छन् । त्यहाँ आफूले वास्तविक नभएर नक्कली पेस्तोल पड्काएर रमाइलो गरेको उनको दाबी छ ।
उनको मामली सर्लाहीका जमिनदार हुन् । ‘गएको ११ वैशाखमा मेरो मामाकी छोरीको विवाह थियो । ज्वाइँ भारत सीतामणिका हुनुहुन्छ । त्यसैले सीतामणिमै वैवाहिक समारोह आयोजना गरिएको थियो । त्यहीँ मामाका छोराहरूले नक्कली गन ल्याएर फायर गर्न भने । मैले रमाइलोका लागि फायर गरेँ’, उनले शिलापत्रसित भनिन्, ‘नक्कली पेस्तोल पड्काएको त हो नि भनेर आफैंले टिकटकमा भिडियो पोस्ट गरेकी थिएँ ।’
भिडियो पोस्ट भएको केही घण्टामै भाइरल बन्यो । कतिपयले उनलाई मेसेज गरेर भिडियोबारे जिज्ञासा राख्न थाले । ‘बेकारमा किन विवादमा पर्नु भनेर मैले पछि भिडियो डिलिट गरिदिएँ । तर, अरु पेज र प्रोफाइलबाट भिडियो हालेर भाइरल बनाइएछ’, डा. यादवले भनिन् ।
नक्कली पेस्तोलबारे आफूलाई पनि सुरुमा केही थाहा नभएको उनले बताइन् । ‘विवादमा परेपछि भाइहरूलाई सोधें रेञ्जर टोय खेलौना रहेछ, यसबारे गुगल गरेर पनि बुझेँ’, उनले भनिन् ।
भिडियोलाई लिएर प्रश्न उठाइएपछि प्रहरीले समेत जिज्ञासा राखेको र आफूले प्रस्ट पारेको उनले स्पष्ट पारिन् ।
‘एक वैवाहिक समारोहका बीच रेञ्जर टोइ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनुहुनका लागि यहाँ सम्पूर्णमा अनुरोध एवम् आग्रह गर्दछु’, फेसबुक पोस्टमार्फत समेत उनले भनेकी छन्, ‘साथै, सो भिडियो नितान्त मनोरञ्जनात्मक मात्रै भएको समेत जानकारी गराउँदछु ।’
