काठमाडौं। मधेसकेंद्रित आठ दलहरूले एक साझा कार्यदल गठन गरेका छन्। बिहीबार सिंहदरबारमा आयोजित बैठकमा प्रत्येक दलबाट एक-एक सदस्य चयन गरेर कार्यदल बनाइएको हो।
बैठकमा जसपा इस्तियाक राई, जनमतका शरद सिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीका केशव झा मेहता, जनता प्रगतिशील पार्टीका शिवजी यादव र लोसपाका ब्रजेश सिंह कार्यदलमा समावेश भएका छन्।
साझा एजेण्डा तय गर्ने र विधेयकहरूमा समान धारणा बनाउन कार्यदलले मस्यौदा तयार गर्नेछ। जनमतका प्रवक्ता शरद सिंह यादवले यस बारेमा जानकारी दिँदै भने, "सर्वदलीय बैठकमा सरकारको ल्याएको विधेयकलाई कस्तो प्रकारले प्रस्तुत गर्ने भन्नेमा छलफल भएको छ। विशेष गरी सामाजिक सञ्जाललाई नियमन गर्न ल्याइएको विधेयकमा अभिव्यक्तिको स्वतन्त्रतामा कुनै हस्तक्षेप हुनुहुँदैन।"
बैठकमा सबै दलहरू साझा धारणा सार्वजनिक गर्न ढिलाइ नगर्न सहमत भएका छन्। राष्ट्रिय मुक्ति मोर्चाका नेता केशव झा मेहताले भने, "अब कार्यदलको नियमित बैठक बस्नेछ, र मोर्चाका कार्यहरूको लागि आचारसंहिता र मोडालिटी तय गरिनेछ।"