जनकपुर ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका बालेन्द्र साह (बालेन) का काका इन्जिनियर सत्यनारायण साहले पनि प्रतिनिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनले धनुषा ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनी महोत्तरी एकडाराका हुन् । तर कर्मभूमी जनकपुर भएकाले धनुषा ३ लाई आफ्नो चुनावी क्षेत्र बनाएका हुन् । मेकानिकल इन्जिनियरबाट रिटायर्ड साहले पछिल्लो समय आफ्नो लेख रचनाका मार्फत तराई मधेसका राजनीतिक, आर्थिक, साँस्कृतिक समस्यालाई उजागर गर्दै आएका थिए ।
तराई मधेसमा देखिएको विकृति र विसंगतिको समाधान राजनीतिक प्रणालीबाट मात्र सुधार गर्न सकिने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
आफूले चाहेको भए राजनीतिक दलबाट पनि टिकट लिन सक्ने उल्लेख गर्दै उनले सबैको सर्वप्रिय व्यक्ति बन्न स्वतन्त्र नै उम्मेदवारी दिएको बताए ।
‘तपाईले स्वतन्त्र उम्मेदवारी दिनुमा बालेनको प्रभाव रहेको छ कि’ भनि राखिएको जिज्ञासामा उनले यसमा बालेनको कुनै प्रभाव नरहेको दावी गरे ।
‘यो उम्मेदवारीको सम्बन्धमा बालेन मात्र होइन, मेरो परिवारका कुनै पनि सदस्यसँग सल्लाह भएको छैन’, उनले भने, ‘मैले मेरो चुनावी अभियानमा बालेन मात्र होइन, परिवारका अन्य कुनै पनि सदस्यलाई इगेंज गराउन चाहेको छैन ।
’ बालेन काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दा आफूहरुको कुनै सहयोग नरहेको पनि उनले बताए ।
बालेनले सहयोग गर्न चाहे भने आफूले नरोक्ने उनको भनाइ छ । उनले भने, 'बालेनको गृहजिल्ला हो, उसको मातृभूमि हो, उनले आउन चाहे हामीले रोक्न सक्दैनौँ । तर चुनावमा उनले पनि कुनै भूमिका खेल्लान् जस्तो मलाई लाग्दैन ।’
राजनीतिक शुद्धीकरण अभियानमा लागेका उनले स्वतन्त्रबाट जित्नसके संसदबाट देशमा देखिएको बेथितिको अन्त्य गर्नतर्फ लागिपर्ने बताए ।
धनुषा ३ मा सत्ता गठबन्धनबाट लोसपाका कार्यकारिणी सदस्य अनिल कुमार झा, जसपा र एमाले गठबन्धनबाट जुली महतोले पनि उम्मेदवारी दिएका छन् ।
उनीहरु प्रतिस्पर्धा गर्नका लागि साहले स्वतन्त्रमा उम्मेदवारी उनले दिएका हुन् ।