काठमाडौ । यतिबेला नेपाली समाज ‘मास फ्रस्टेसन’ बाट गुज्रिरहेको छ । सामाजिक, आर्थिक र राजनीतिक हरेक क्षेत्रमा नागरिक चरम निराशाबीच छन् ।
एउटा सानो कामका लागि कर्मचारीले हप्तौँ झुलाउँछन्, घुसबिना सकेसम्म कामै गर्दैनन् ।नागरिकको करमा राजनीतिज्ञको रजाइँ छ । सत्तामा भएकाहरू पनि चुनावी घोषण पत्र भुलेर बरालिएका छन् । राज्यको सम्पत्ति दोहनकै लागि राजनीतिमा प्रवेश गर्नेको संख्या कम छैन ।
नागरिकले राज्यको अनुभूति गर्न कठिन भएको छ । नागरिकले आधारभूत आवश्यकता पूरा गर्न पनि छटपटिनु परेको छ ।सार्वजनिक र नीजि क्षेत्रमा नागरिक खुलेआम ठगिँदा बोल्दिने कोही छैन । जनगुनासोलाई राज्यका निकायले यथाशीघ्र सम्बोधन गर्दैनन् । यातायात विभागले सवारी चालक अनुमति पत्र प्रिन्ट गर्नै वर्षौं लगाउँछ ।
मालपोत र भूमिसुधारमा घुसबिना काम लिन मुश्किल पर्छ । राज्य र तिनका निकायका यस्ता बेथितिविरुद्ध मूलधारका सञ्चारमाध्यम पनि सशक्त रुपमा बोल्दैनन् ।नेपाललाई शासकले होइन पशुपतिनाथको कृपाले चलाइरहेको भन्न बाध्य छन् नागरिक । त्यहीकारण समाज अहिले आफ्नो पीडाबारे बोलिदिने भगवानको खोजीमा छ । यही अवस्थाको फाइदा लिँदै सानातिना समस्या समाधानका लागिसमेत समाजका सदस्य भाइरल म्यानको खोजीमा लाग्छन् । सामाजिक सञ्जालको बढ्दो प्रभावले अहिले बोल मौका कोही न कोही ‘भगवान’ जन्माइरहन्छ । तिनै भगवान्लाई केही क्षणमै यही समाजले राक्षसीकरण गरिदिन्छ ।सञ्चारमाध्यम पनि आफ्नो धर्म निर्वाहमा प्रतिबद्ध देखिँदैनन् ।
एकपक्षीय र एकपाखे विचार र समाचारले समाजलाई गलत दिशातिर लैजाँदैछ । पत्रकारिताको पनि आचारसंहिता छ तर वाक स्वतन्त्रताका नाममा अराजकता पनि बढिरहेको छ ।
अहिले कस्तोसम्म भएको छ भने एउटा क्यामेरा बोकेपछि जोकोही पत्रकार भएका छन् । पत्रकार आचारसंहिता ख्याल नगरी दौडिनेका कारण पत्रकारिताको धर्म मर्दै गएको छ । ‘सामाजिक जवाफदेहिता’ को दायित्व भुलिँदैछ । भाषामा सभ्यता छैन । देखाउन हुने–नहुने दृश्य समाजमा फैलिरहेका छन् ।यसले समाजमा पर्ने असरको ख्याल छैन । धेरैभन्दा धेरै भ्युज बटुलेर पैसा कमाउन एउटा जमात तल्लिन छ । भाइरल पात्रलाई पछिल्लो समय युटुबरले बोकेर झनै भाइरल बनाइरहेका छन् ।यस्ता भाइरल कन्टेन्टले अशिक्षित र अर्धशिक्षित जमतालाई पछि लगाइरहेको छ ।
पछिल्लो समय ‘भाइरल’ हुने रहरमा सामाजिक सञ्जालमा अनेखालका समाजसेवी र सामाजिक अभियन्ता देखिन थालेका छन् । तुरुन्तै चर्चा र ताली पाउने लोभले सामाजिक मर्यादा, कानुनी मापदण्ड र नैतिक आचरण सबै बिर्साइरहेको छ ।