जनकपुर – धनुषाको सबैला नगरपालिका-१० अन्तर्गत बिरेंद्रबजार–महिनाथपुर सडक खण्डमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन्।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७-च-८२२९ नम्बरको कार र दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ज-११-प-७७९६ नम्बरको एफजेड मोटरसाइकल सिमरारी र शहीदनगर नगरपालिका-हौवाहीको बीचमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार अमन कुमार साहको घटनास्थलमै मृत्यु भएको छ भने अर्का सवारी आकाश कुमार जायसवाल गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक दीपक क्षेत्री महतका अनुसार गम्भीर घाइते जायसवाल र मृतक साहको शवलाई उपचार तथा पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।