जनकपुर ।
काठमाडौं महानगरपालिकाको एउटा टोली आइतबार दिउँसो डोजर लिएर कोटेश्वर पुग्यो ।
अनधिकृत संरचना हटाउन साउन १ गते ३५ दिने सूचना निकालेको महानगरले सूचनाको म्याद सकिएको भोलिपल्टदेखि अनधिकृत संरचना र फुटपाथ अतिक्रमण हटाउन ठाउँ ठाउँमा डोजर लगाएको छ ।
तर पनि अनधिकृत रुपमा बनाइएका संरचना व्यवसायी आफैंले हटाएका छैनन् ।
वडामार्फत पटक पटक गरिएको आग्रहलाई पनि व्यवासयीले नटेरेपछि आफूहरु डोजर लिएरै जानु परेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
‘अनधिकृत संरचना हटाउन यत्रो चर्चा भइरहेको बेला कोटेश्वरमा ३ चोटी भन्दा धेरै महानगर प्रहरी आएर हल्ला गरिसक्यो तर उहाँहरुले हटाउनुभएन, बाध्य भएर डोजर चलाएका हौं ।
हामी महानगरभरीकै अनधिकृत संरचना हटाउने कार्य यहाँ पनि सुरु गरेको हो,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।
महानगर प्रहरीले फुटपाथलाई ओगटेका भवनको भर्याङ, फुटपाथ भन्दा बाहिर निकालेर राखेको होर्डिङ बोर्ड, पाली, बार्दली भत्काएको हो ।
यस्तै कोटेश्वर क्षेत्रमा रहेको बस, सुमो काउन्टरहरुले फुटपाथ छेकेर बनाएको डेस्क पनि नगर प्रहरीले हटाइदिएको छ ।
कोटेश्वरको सुन्दर बजारको फुटपाथको लाइन मिचेर बनाएका दुईटा सटरमा महानगरले डोजर चलाएको छ । सुन्दर बजारमा डोजर चल्न थालेपछि केहि स्थानीय युवाले पसलमा रहेको सामान निकाल्न दिनुपर्ने माग गरेका थिए ।
महानगर प्रहरीले १० मिनेटभित्र सामान खाली गर्न निर्देशन दिएपछि उनीहरुले सटरमा रहेका पसलका सामग्रीहरु हटाएका हुन् ।