जनकपुर । सबैला नगरपालिका–८ ठिल्लाका फेकन साह हलवाईको घरमा आगलागी हुँदा झन्डै ५० लाख बराबरको क्षति भएको छ। शुक्रबार साझ करिब ६ बजे भएको आगलागीले साहको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।
आगलागीमा ११ तोला माथि सुन, ८० तोला चाँदी, ४ लाख ५० हजार रुपैयाँ नगदसहितका सामान जलेर नष्ट भएका छन्। आगलागीको कारण हालसम्म पुष्टि हुन सकेको छैन, र यसबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी सबैलाले बताएको छ।
स्थानीय बासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइए पनि ठूलो क्षति भइसकेको थियो। आगलागीमा साहको घरका सबै सामान जलेर नष्ट भएकाले परिवारमा आर्थिक संकट थपिएको छ।