जनकपुर ।
सार्वजनिक बिदा अवज्ञा गरेको भन्दै आदिवासी जनजाति युवा महासंघ नेपालका कार्यकर्ताले सर्लाहीको हरिवनमा स्कुल बस तोडफोड गरेका छन् ।
मंगलबार हरिवन नगरपालिका–४ स्थित गणेश चोकमा सार्वजनिक बिदाको अवज्ञा गरेको भन्दै महासंघका कार्यकर्ताले स्कुल बस तोडफोड गरेको हो ।
महायानी बौद्ध धर्मावलम्बीको २१५०औं ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरी स्कुल सञ्चालन गरेकाले स्कुल बस तोडफोड गरेको महासंघले जनाएको हो ।
तोडफोडबाट लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेको पिस जोन इङलिस बोर्डिङ स्कुलको ना १ क ८८३४ नम्बरको बसमा क्षती पुगेको छ ।
स्कुलका बालबालिकालाई घर पुर्याएर फर्कँदै गर्दा केही यूवाको समूहले स्कुल बसमा ढुंगामुढा गरेका विद्यालयले जनाएको छ ।
तोडफोडबाट बसको सिसा फुटेको छ । बालबालिका पुर्याएर फर्कँदै गरेको स्कुल बसमा योजनाबद्ध ढंगले आक्रमण भएको प्रधानाध्यापक दिलिप न्यौपानेले बताए ।
निजि विद्यालय संगठन प्याब्सन लालबन्दी नगर कमिटी अध्यक्षसमेत रहेका न्यैपानेले घटना निन्दनीय रहेको भन्दै अराजक गतिविधि गर्नेमाथि कार्वाहीको माग गरेका छन् ।
यता आदिवासी जनजाती युवा महासंघ प्रदेश इन्चार्ज संन्जिव मोक्तानले कार्यकर्ताले भौतिक कार्वाही गरेको प्रतिकृया दिएका छन् ।
सार्वजनिक बिदाको समयमा स्कुल सञ्चालन नगर्न विद्यालय परिवारलाई पूर्वजानकारी गराउँदा पनि अटेर गरेपछि भौतिक कार्वाही गर्नुपरेको उनले बताए । घटनाको सम्पूर्ण जिम्मेवारी महासंघले लिने उनले बताए ।
विद्यालयले घटनाको विषयमा निवेदन दर्ता गराएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।
