जनकपुरधाम ।
मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद भएका छन् ।
माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उमेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनी मात्र निर्वाचित भएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन् । रायले २३ हजार ५२९ मत पाउँदा महतोले २१ हजार ५१८ मत प्राप्त गरे ।
मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उमेदवारी दिएको थियो ।
धनुषा–१ मा पार्टीका उपमहासचिव मात्रिका यादव जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्कीसँग पराजित भएका छन् ।
महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले)का नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए ।
वि.सं. २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उनी डा. बाबुराम भट्टराई आबद्ध नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् । पार्टी फरक भए पनि उनी यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हतौडा लिएर चुनावमा होमिएका थिए ।
को हुन् राय ?
राय नेपाली राजनीतिमा परिचित नाम हो । वि.सं. २०६२/६३ अघिसम्म एमालेबाट राजनीति गरेका राय सो पार्टीको केन्द्रीय कमिटी सदस्य समेत बने । सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बनेर सर्लाहीबाट निर्वाचित भए ।
तर, २०६२/६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बने ।
राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उनी तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्य समेत भए ।
पछि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।
राय २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी भएका थिए । संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उनी सर्लाही–२ बाट निर्वाचित भए ।
उनी २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बनेका थिए । रासस