जनकपुरधाम ।
चाडपर्वमा मनोरञ्जनका लागि पड्काइने पटकाको तस्करी मधेसमा मौलाएको छ । नेपालमा पटका आयात र खरिद-बिक्रीमा पूर्ण प्रतिबन्ध छ ।
नेपाल प्रहरीले चाडपर्वका बेला हरेक वर्ष मातहतका अधिकारीलाई पटका तस्करी रोक्न निर्देशन जारी गर्छ । तर, सीमा क्षेत्रका सुरक्षा निकाय यसको नियन्त्रणमा नाकाम देखिन्छन् ।
विशेषगरी दिपावली, तिहार र छठमा पटका पड्काउने गरिन्छ । अहिले हरेक सीमावर्ती भारतीय बजारबाट दैनिक करोडौंको पटका अवैधरूपमा नेपाल भित्रिने गरेको छ ।
सर्वसाधारणले विभिन्न समानमा पटका लुकाएर भित्र्याउँछन् । तर, व्यापारी र बलेकिया (तस्कर) ले प्रहरीकै मिलोमतोमा पटका नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ । भारतीय बजारबाट भित्रिने पटका काठमाडौंसम्म पुग्छ ।
धनुषा, नगराइनका एक व्यापारी भन्छन्, ‘पटका भित्र्याउन प्रहरीले १० देखि २० प्रतिशत कमिसन लिन्छन् । हामीले पटका जनकपुरका व्यापारीलाई दिन्छौं ।
त्यहाँबाट काठमाडौं र अन्य ठूला शहर पुग्छ ।’ पटका जनकपुर लगिदिँदा खरिद मूल्यको दोब्बरमा बिक्री हुने गरेको उनी सुनाउँछन् ।
बलेकियाले भने प्रहरीको आँखा छलेर पटका तस्करी गर्छन् । उनीहरूले प्रहरी नबस्ने स्थानहरूबाट पटका साइकल, मोटरसाइकल वा पैदलै हिँडेर तस्करी गर्ने पाइएको छ ।
प्रहरीले समातेपछि घुस माग्छन् भनेर बलेकियाहरू रातिको समयमा खुरपेया (गोरेटो) बाटो हुँदै पटका तस्करी गर्ने गरेको नगराइनकै एक युवकले सुनाए ।
ती युवकका अनुसार कहिलेकाहीँ प्रहरी गस्ती टोलीले मात्र पटका समात्छन् । जटही नाकाबाट मात्रै दिनहुँ लाखौंको पटका तस्करी हुन्छ ।
धेरै प्रहरीले त देखेर पनि नदेखे झैँ गर्छन् । बढी फाइदा हुने भएकाले महिला पनि झोलामै राखेर पटका तस्करी गर्ने गरेको उनको भनाइ छ ।
खुल्ला सिमाना पटका नियन्त्रणका लागि चुनौती बनेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले खुल्ला सिमानाका कारण पटका तस्करी नियन्त्रण गर्न नसकिएको स्वीकार्छन् ।
उनले भने, ‘सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा युनिट भएको ठाउँबाहेक साना गोरेटो बाटोहरूले नेपाललाई जोडेको छ । त्यसैले पटका तस्करी नियन्त्रण गर्न गार्हो भएको छ ।’
प्रदेश प्रहरी प्रवक्ता तिम्सिनाले पटका नियन्त्रण गर्न प्रहरीको प्रगति त्यति राम्रो छैन तर नियन्त्रण गर्न असम्भव पनि नभएको बताउँछन् ।
पटका पड्काउँदा आगलगीजस्ता घटना हुँदा विगतमा ठूलो जनधनको क्षति भए पनि यो पटक त्यतिधेरै घटना नभएको उनको भनाइ छ ।