जनकपुर ।
सिरहा क्षेत्र नम्वर २ मा बाम–लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादवबीच चर्काचर्की भएको छ ।
पत्रकार ऋषि धमलाले सिरहाको औरहीमा आयोजना गरेको चुनाबी बहस कार्यक्रममा उम्मेदवारद्वय नेपाली काँग्रेसकी चित्रलेखा र जसपाका राजकिशोरबीच चर्काचर्की भयो ।
बोल्ने क्रममा उम्मेदवार राजकिशोरले ०१५ सालमा काँग्रेसले बहुमत ल्याएर सरकार बनाएको र ०१७ सालमा पार्टीको आन्तरिक किचलोका कारण तत्कालिन राजाले ‘कु’ गरेको बताएका थिए । तर उम्मेदवार चित्रलेखाले आन्तरिक किचलोले होइन् भनेपछि झण्डै हात हालाहाल भयो ।
चित्रलेखाले प्रतिवाद गरेपछि राजकिशोरले बीचमा नबोल्नुस् भनेका थिए । त्यसपछि दुबै जना कुर्सीबाट उठेर एक अर्कालाई औंला तेर्साए ।
दुवै जनाको बीचमा पत्रकार धमला थिए । र उनी जसोतसो स्थिति सम्हाले । पत्रकार धमला बीचमा नभएको भए झण्डै कुटाकुट नै हुने स्थिति बनेको थियो ।
त्यति मात्र भएन, एक युवकले चित्रलेखाको पारिवारित विषयमा प्रश्न उठाएपछि कार्यक्रममा झन बबाल मच्यो । काँग्रेसका कार्यकर्ताहरु ति युवकमाथि जाइलागे । उनलाई कुटपिटको प्रयास भएपछि प्रहरीले बचाएका थिए । यसरी पटक पटक विवाद भएपछि पत्रकार धमलाले कार्यक्रम नै छोट्याए ।
उक्त बहसका क्रममा उम्मेदवार राजकिशोरले मधेसी, दलित, महिलाहरुलाई मुल धारमा प्रवेश गराई सबैलाई समान अधिकार र पहिचान दिलाउँदै मुलकलाई समृद्ध बनाउन उम्मेदवार बनेको बताए ।
नागरिकत विधेयक पारित गराउन नदिएको भन्दै एमालेविरुद्ध आन्दोलन गरेको र अहिले उही पार्टीसँग चुनावी तालमेल गरेर स्वार्थको राजनीति गरेको प्रश्न राजकिशोरलाई सहभागी र काँग्रेस उम्मेदवार चित्रलेखाले उठाए । सो विषयमा राजकिशोरले भने, ‘चुनावी तालमेल कसैसँग पनि हुनसक्छ ।
हामीले कतै एमालेलाई र एमालेले कतै हामीलाई सहयोग मात्र गर्ने सहमती भएको छ । चुनावी एजेण्डा हाम्रो फरक छ । एमाले र काँग्रेसको सोच उस्तै हो ।’
धर्तीलाई नमन गर्दै काँग्रेसकी चित्रलेखाले मन्तव्य सुरु गरेकी थिइन् । उनले प्रतिगमन विरुद्ध २ वर्ष अगाडी नै संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको प्रस्ट्याइन् । उनले भनिन्, ‘यो गठबन्धन लोकतन्त्रलाई बलियो बनाएर जनताको समस्याहरुलाई समाधान गरी देशलाई समृद्ध बनाउन बनेको हो ।’
उनले देशको कायापलट गर्न सबैका निम्ति गुणस्तरीय शिक्षा र स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने बताइन् । उनी किसान र मजदुरको समस्याहरु पनि समाधान गर्नुपर्ने र सोका लागि पटक पटक आवाज उठाएको दावी गरिन् ।
उनले देशमा प्राप्त उपलब्धीको रक्षा र नागरिकता जस्ता समस्या समाधान गर्न बाम–लोकतान्त्रिक गबठन्धनका उम्मेदवारलाई जनताले जिताउने विश्वास व्यक्त गरिन् ।