ad
जनकपुर :
हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा मोरङको कटहरी गाउँपालिका-४ मा शनिबार अपरान्ह एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार करेन्ट लागेर कटहरी-४ का ५२ वर्षीय दिलिप साहको मृत्यु भएको हो।
दुर्गा मन्दिरमा लगाएको टेन्ट खोल्ने क्रममा साहलाई ११ हजार भोल्टको हाइटेन्सन लाइनबाट करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि कोसी अस्पताल ल्याइएका साहलाई अपरान्ह ५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्।
करेन्ट लागेर छटपटाइरहेको देखेपछि साहलाई उद्धार गर्न गएका अर्का व्यक्ति घाइते भएका छन्।
करेन्ट लागेर सुनसरीको इनरुवा नगरपालिका-७ का ४५ वर्षीय फागु सरदार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रंगेलीबाट मोटरसाइकलमा विराटनगरतर्फ आउँदै गर्दा करेन्ट लागेर साह छटपटाइरहेको देखेपछि सरदार उद्धार गर्न पुगेको पाइएको छ। त्यतिबेलै सरदारलाई पनि करेन्ट लागेको डीएसपी कार्कीले बताए।
घाइतेको चिन्ताजनक अवस्था कोसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।
Ad