जनकपुर ।
धनुषाको मिथिला बिहारी नगरपालिका-५ ललियामा श्रीमती हत्याको आरोपमा किरिया बसिरहेका श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय रामा मन्डल केवट रहेका छन् ।
रामाकी ४५ वर्षीया श्रीमती जिवछी देवी मन्डलको असोज ४ गते आफ्नै खेतमा विभत्स अवस्थामा शव भेटिएको थियो ।
बिहान मल लिएर खेतमा छर्न गएकी जिवछीको दिउँसो शव भेटिएको थियो । धनुषा प्रहरीले परिवारको ऋण चुक्ता गर्ने विषयमा श्रीमान-श्रीमतीबीच विवाद हुँदा रामाले कोदालोले टाउकोमा हानेर जिवछीको हत्या गरेको दाबी गरेको छ।
प्रहरीका अनुसार परिवारको ऋण तिर्न सहयोग नगरेको भन्दै विवाद बढेपछि रामाले श्रीमतीलाई कोदालो प्रहार गरेका थिए । त्यसपछि श्रीमतीले लगाएको चुरा फुटाएको र कोदालो छिमेकीको खेतमा फ्याँकेको प्रहरीले जनाएको छ ।
हाल विदेशमा रहेका कान्छा छोराले जिवछी देवीको नाममा पैसा पठाउने गरेपनि उनीहरुले परिवारको ऋण तिर्न सहयोग नगरेको रामाले प्रारम्भिक अनुसन्धानका क्रममा बताएको दाबी गरिएको छ।
प्रहरीका अनुसार रामा-जिवछीका दुई छोरामध्ये जेठा छोराले तीन वर्ष विदेश बसेर ल्याएको १८/२० लाख रुपैयाँ, दाइजोमा ल्याएको मोटरसाइकल र श्रीमतीको गरगहनासमेत बेचेर ऋण तिर्न खर्चिएपनि वैदेशिक रोजगारीमै रहेका कान्छा छोराले भने आमाको नाममा पैसा पठाउने गरेको र ऋण तिर्न बेवास्ता गर्ने गरेका थिए ।
सोही कारण ११/१२ दिन अघि जेठा छोरा छुट्टिएर बेग्लै बस्न थालेका थिए ।
श्रीमानसँगको विवादका क्रममा जिवछीले उनलाई अश्लिल गालीगलोजसमेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।
ad
Ad