जनकपुर ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा अोली जनकपुर पुगेका छन् ।
यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।
यसअघि उनी विभिन्न नेताहरूलाई पार्टीमा प्रवेश गराउन भदौ ३१ सिरहा पनि पुगेका थिए । मधेसवादी दलबाट नेताहरू आफ्नो पार्टी ल्याउन ओली अहिले लगातार मधेस गइरहेका छन् । यतिबेला जसपा र लोसपाका शीर्ष नेताहरू नै एमालेमा प्रवेश गर्न थालेका छन् ।
मधेसमा राम्रो पकड बनाउँदै गइरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरे पछि मधेसमा एमालेको पनि आलोचना भएको छ ।
राष्ट्रपति भण्डारी तथा एमालेको विरोधमा मधेसमा प्रदर्शन भइरहेका छन् । जसपा, लोसपा, जनमत, तमलोपा, नेपाल सद्भावना पार्टीलगायत अन्य संघ संगठनले पनि त्यसको विरोधमा उत्रेका छन् ।
आन्दोलनलाई मत्थर पार्न जनकपुर जानुभन्दा एक दिन अघि उनले चुनावी गठबन्धनका लागि लोसपालाई वार्ता समिति गठन गर्न लगाएका छन् ।
लोसपाका अध्यक्ष ठाकुरले हिजो नै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गरिसकेका छन् ।
वार्ता समिति गठन गरेको बारेमा अध्यक्ष ठाकुरले जानकारी गराउनका लागि नेता महतोलाई पत्र पनि पठाएका छन् ।
वार्ता समिति गठन गरेको कुरा बाहिर आएपछि लोसपाले एमालेविरुद्धको आन्दोलन स्थगित गरेको छ । उनी जनकपुर पुगेर रेलको यात्रा पनि गरेका छन् ।
Ad