जनकपुर ।
धनुषा निर्वाचन क्षेत्र नम्बर दुईको प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिसको विषयमा दुई नेताको समर्थकबीच झडप भएको छ।
शनिवार औरही गाँपालिका–१ स्थित झिटकोहियामा नेपाली कांग्रेसको क्षेत्रीय कमिटीको बैठकमा नेता रामकृष्ण यादव र मुक्ता कुमारी यादव समर्थकबीच नाम सिफारिसको विषयमा कुटाकुट भएको हो।
शुक्रबार धनुषा निर्वाचन क्षेत्र दुईको लागि प्रतिनिभिसभा सदस्यको उम्मेदवार सिफारिस पठाउने विषयमा क्षेत्रीय कमिटीको बैठक बसेको थियो।
सो बैठकबाट दुई जना रामकृष्ण यादव र मुक्ता कुमारी यादवको नाम सिफारिस गरेको थियो। तर आपसी सहमतिबाट कुनै एक नेताको नाम मात्रै पठाउने भनेर पुनः शनिबार बैठक बस्याे।
बैठक दुई बजेदेखि सुरु भयो बैठकमा सहभागी नेताकार्याकर्ताहरु कसैले रामकृष्णले छाड्नुपर्ने त कसैले मुक्ता यादवले छाड्नुपर्ने धारणा राखे। बैठकमा सहभागीको धारणा सुनेपछि मुक्ताले आफ्नो धारणा सुनाए।
‘रामकृष्ण यादव यो निर्वाचन क्षेत्रबाट तीनपटक उठिसकेका छन्, जसमा दुईटै संविधानसभाको निर्वाचनमा उहाँले जित्नु भयो। पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा पराजित हुनु भएको छ। त्यसैले अब पालो मलाई दिनुपर्छ, मुक्ताले भनिन्,‘ बरु रामकृष्णजी समानुपातिक जाउस प्रत्यक्ष निर्वाचनमा मलाई सहयोग गरोस्। होईन भने मेरो नाम पनि पठाउनुपर्छ। केन्द्रले जसलाई टिकट दिए स्विकार गर्छु।’
मुक्ताको कुरा सुनेपछि रामकृष्णले भने,‘यो मेरो लागि अन्तिम निर्वाचन हो यसपटक मलाई सहयोग गरी मेरो एकल नाम सिफारिस गरीदिनुस्, अर्को निर्वाचनमा म उम्मेदवार बनिदिँन मुक्ताजीलाई सहयोग गर्छु त्यसैले म मुक्ताजीलाई आग्रह गर्छु तपाईँ यसपालि मलाई समर्थन गर्नुस् आफ्नो फिर्ता लिनुस्।’
तरपनि दुबै नेताले एकले अर्कालाई नछाड्ने अडानमा रहे। दुबै नेताको अडान कायमै रहदाँ साँझ पर्न लागेको थियो। बैठकमा सहगाभी नेताहरुले आजको लागि बैठक स्थगित गरी भोली फेरी बस्ने गरी बैठक कोठाबाट बाहिरिन थाले। त्यही क्रममा रामकृष्णको विश्वासपात्र मानिएका श्रवण कुसियैतको हातमा बैठकको माइन्युट देखेपछि मुक्ता समर्थकले प्रश्न गरे माइन्युट काहाँ लागेको? कुसियैतले जवाफ दिए जनकपुर त्यतिकैमा उनीहरुबीच भनाभान भयो।
भनाभानबाट सुरु भएको विवाद दुबै समुहबीच हनाहानमा परिनत भयो। दुबै समुहबीच हनाहान भएपछि आइतबार जनकपुरमा पुनः बैठक बस्ने र उम्मेदवार सिफारिस गर्ने निर्णयपछि सहभागी कार्याकर्ताहरु आ–आफ्नो घरतर्फ लागे।
धनुषा निर्वाचन क्षेत्रबाट रामकृष्ण यादव ०६४ र ०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरी विजयी भएका थिए भने ०७४ सालको निर्वाचनमा संघीय समाजवादीको उम्मेदवारी उमाँशंकर अरगरियाबाट पराजित भएका थिए।
मुक्ता यादव दोस्रो संविधानसभामा समानुपातिक सदस्य र ०७४ सालमा राष्ट्रियसभा सदस्य थिइन्। उनलाई राष्ट्रियसभामा दुईसालको कार्यकाल परेको थियो।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा यी दुबै नेताकाे उम्मेदवार थियो। रामकृष्ण सह–महामन्त्रीमा पराजित भएका थिए भने मुक्ता केन्द्रीय सदस्यमा सबै भन्दा बढी मत ल्याएर निर्वाचित भएकी हुन्।
धनुषा निर्वाचन क्षेत्र दुईमा कांग्रेसको अवस्था के छ?
यस निर्वाचन क्षेत्रमा जम्मा सात पालिकाको ४४ वटा पर्छ। जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १७ र १८, हंसपुर नगरपालिकाको १,४,६ र ९, विदेह नगरपालिकाको १,२,३,४,५,६,७ र ८,जनकनन्दीनी गाउँपालिका,औरही गाउँपालिका,शहिद नगर नगरपालिका र कमला नगरपालिका पर्छ।
जसमध्ये एकमात्र कमला नगरपालिकाको प्रमुखसहित १९ वटामा कांग्रेसले तिजेका छन्। गत स्थानीय चुनावमा वडा स्तरमा कांग्रेसले झण्डै २२ हजार मत पाएका छ। नेकपा एमालेले १२ हजार, माओवादीले ९ हजार माओवादीकै हराहरीमा जसपाले मत पाएको छ।