जनकपुरधाम ।
सिरहाको कर्जन्हा नगरपालिका-६ स्थित बगैचामा बिहीबार दिउँसो एक महिला बसेकी थिइन् ।
उनी घण्टौसम्म त्यहाँ बसेपछि स्थानीय भेला भएर ‘बच्चा चोर’ को आरोप लगाउँदै मरणासन्न हुनेगरी कुटपिट गरे ।
कुटपिटबाट बेहोस बनेकी महिलालाई गाउँलेले कर्जन्हा प्रहरी चौकीमा लगेर जिम्मा लगाइदिए । प्रहरीका अनुसार गाउँलेले आरोप लगाएजस्तो ती महिला होइनन् ।
सर्लाही घर भएकी उनको मानसिक स्वास्थ्यमा समस्या देखिएको प्रहरीले बताएको छ । उनलाई हिजै साँझ छाडियो ।
बिहीबार राति सिरहाकै औरही गाउँपालिका ५ मा पनि एक महिला स्थानीयबाट कुटिएकी छन् । गाउँकै डिहबार मन्दिर आसपास घुमिरहेकी ४० वर्षीया महिलालाई राति करिब १० बजे गाउँलेले नियन्त्रणमा कुटपिट गरे, अनी नजिकै रहेको प्रहरी चौकीमा बुझाए ।
उनीमाथि पनि गाउँलेले ‘बच्चा चोर’ को आरोप लगाए । स्थानीयले होहल्ला गर्न थालेपछि औरही प्रहरीले उनलाई राति नै जिल्ला प्रहरी कार्यालय सिरहा लगेको थियो ।
यी प्रतिनिधि केही घटना मात्र हुन् । केही दिनदेखि सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सालगायत मधेसका जिल्लामा बच्चा चोरको आतंक नै चलेको छ । भारतबाट बच्चा चोर्ने गिरोह मधेस पसेको अफवाहले स्वयं बालबालिका मानसिक तनावमा छन् ।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बच्चा चोर भनेर स्थानीयबाट समातिएकी महिलाहरुमाथि अनुसन्धान गर्दा पुष्टि नहुने गरेको बताए ।
उनले भने, ‘कर्जन्हामा स्थानीयले बुझाएको महिला निर्दोष सावित भइन् । औरहीबाट नियन्त्रणमा लिइएकी महिला पनि दोषी पाइएन ।
मानिसहरू सचेत हुनु जरुरी छ। जो पायो त्यहीलाई शंका लाग्यो भन्दै कुटपिट गर्नु हुँदैन । प्रहरीमा बुझाएपछि अनुसन्धान हुन्छ । यदि दोषी देखिए कानूनबमोजिम कारबाही हुन्छ ।’