जनकपुर —
भारतको दक्षिणी सीमा छुँदै पूर्व–पश्चिम राजमार्ग पुग्ने जटही–जनकपुर–ढल्केवर ६ लेन सडकको अधिकांश खण्ड कालोपत्र भइसकेको एक वर्षभन्दा बढी भयो । महेन्द्रनगरको औरही खोलामा ६ लेनकै पुल बनिसकेको दुई वर्ष नाघ्यो ।
तर, यही सडक खण्डको तीन स्थानमा पुल निर्माण सुस्त छ भने जनकपुरको पिराडी चोकदेखि रामानन्द चोकसम्म कालोपत्र हुन सकेको छैन ।
सडकअन्तर्गत ढल्केवर, सपही र बसहियामा निर्माण भइरहेको पुलको काम सुस्त छ । रामानन्द चोकस्थित सार्वजनिक शौचालय हटाउने मामिला पेचिलो बन्दा जनकपुरको सहरी क्षेत्रमै कालोपत्र रोकिएको छ ।
जनकपुर–ढल्केबर सडक खण्डको सपहीमा पुल निर्माण थालेको त ५ वर्ष भयो । सञ्चालित दुई लेनको पुल भत्काएर नयाँ बनाउन थालिएपछि लामो समयदेखि डाइभर्सन बनाएर सवारीसाधन आवतजावत भइरहेको छ । तर, निर्माणस्थलमा डाइभर्सनको संकेत नराख्दा पटकपटक सवारी दुर्घटनामा यात्रुले ज्यान गुमाउनु परेको छ ।
जनकपुर–ढल्केबर सडक खण्डकै बसहिया पुलसमेत नबन्दा दुर्घटना बढेको छ । फराकिलो सडकमा तीव्र गतिमा आउने सवारीसाधन निर्माणाधीन पुलनजिक खाल्डोमा अनियन्त्रित भएर दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बसहियामा पुलको पिलरसमेत ठड्याइएको छैन । भारतीय सिमानादेखि पूर्व–पश्चिम राजमार्ग जोड्न ६ अर्बको लागतमा ५ भागमा विभाजन गरी ६ लेनको व्यापारिक मार्ग बनाउन थालिएको हो ।
जटही–जनकपुर १४ किलोमिटर सडक खण्डलाई जटहीदेखि गंगुलीसम्म र गंगुलीदेखि जनकपुरसम्म दुई भागमा निर्माण गरिएको हो । जनकपुर–ढल्केवर २६ किमिजनकपुर–सपही १२ किलोमिटर खण्डको सडकअन्तर्गत पिराडी चोकसम्म मात्र कालोपत्र गरिएको छ ।
आयोजना प्रमुख रामतहल यादवका अनुसार ४० किमि सडकको ७ पुलमध्ये २ वटाको निर्माण सम्पन्न भएको छ । ५ पुल चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने कार्यतालिका छ ।
निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पुल निर्माण प्रभावित भएको यादवले बताए । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएका यी सबै पुलको २ पटक म्याद थप भइसकेको उनले बताए ।
आयोजनाको ९० प्रतिशत काम पूरा भएको योजनाका इन्जिनियर विवेक झाले बताए । जनकपुरको विमानस्थलबाट ६ लेनसम्म जोड्ने सडकको समेत काम पूरा भएको इन्जिनियर झाले बताए । लामो समयसम्म सडक विस्तारको कामले जनकपुर आवतजावत कष्टकर बनेको छ ।