जनकपुर - मधेश प्रदेश सरकारका लेखा समूहका कर्मचारीहरूले प्रदेश वन निर्देशनालयका केही कर्मचारीले राजनीतिक प्रभावको आडमा लेखा समूहका कर्मचारीमाथि अनावश्यक आरोप लगाएको र काममा बाधा पुर्याएको भन्दै विरोध जनाएका छन् ।
लेखा समूहका कर्मचारीहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै केही वन सेवाका कर्मचारीहरूले समूहलाई बदनाम गर्ने र सेवा प्रवाहमा अवरोध पुर्याउने प्रयास गरेको आरोप लगाएका हुन् ।
विज्ञप्तिअनुसार २४ मंसिरमा वन सेवाका केही कर्मचारीहरूले लेखा समूहका कर्मचारीमाथि ’अनावश्यक हाजिरी, धम्की तथा काममा अवरोध’ गरेको भन्दै दुष्प्रचार गरेका थिए । लेखा समूहले उक्त कार्यलाई आधारहीन र पूर्वाग्राही भन्दै खण्डन गरेको छ ।
समूहले आफ्नो विज्ञप्तिमा भनेको छ, 'प्रदेशमा देखिएको राजनीतिक तथा प्रशासनिक परिवेशको आडमा लेखा समूहका कर्मचारीहरूमाथि आरोप थोपर्ने, लाञ्छना लगाउने र गलत धारणा सिर्जना गर्ने प्रवृत्ति बढेको छ ।'
लेखा समूहले नियमित प्रशासनिक तथा आर्थिक कामकाज गर्दै आए पनि अनावश्यक रूपमा कामकाज बन्देज लगाई ३ महिनाभन्दा बढी समयदेखि भुक्तानी रोक्का गरिएको र यसबाट कर्मचारीहरूलाई अनावश्यक मानसिक यातना दिइएको आरोप लगाएको छ । साथै, साङ्केतिक रूपमा जागिरबाट निकाल्ने धम्की दिइएको विषयले समेत काम गर्ने वातावरणमा असहजता आएको जनाइएको छ ।
मधेश प्रदेश लेखा समूहका अध्यक्ष जितेन्द्रप्रसाद यादवको अगुवाइमा लेखा समूहका कर्मचारीहरूले प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतोलाई समेत ज्ञापनपत्र बुझाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने तथा कुनै पनि कार्यालयमा लेखा समूहका कर्मचारीलाई सहज रूपमा काम गर्ने वातावरण सुनिश्चिता हुनुपर्नेलगायतका माग गरेका छन् ।
