जनकपुर — धनुषा जिल्ला शहीदनगर नगरपालिका–८ बिसरभोरा निवासी १७ वर्षीय राजन दास राष्ट्रिय किशोर सञ्जाल नेपालको केन्द्रीय कार्य समितिमा मनोनीत भएका छन्। उनी ५६ वर्षीय जोगेन्द्र दास तत्मा र ४६ वर्षीय भुल्ली देवी दासका छोरा हुन्।
लैङ्गिक हिंसा अन्त्य गर्न तथा लैङ्गिक समानता कायम गर्न किशोर–किशोरीलाई सक्रिय बनाउन स्थापना भएको राष्ट्रिय किशोर सञ्जाल सन् २०२१ (२०७८ साउन १४) मा “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ गठन गरिएको थियो। “बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने सन्देशसहित यो सञ्जाल सिविन नेपालको सहयोगमा सञ्चालन हुँदै आएको छ।
सञ्जालको उद्देश्य किशोरकिशोरीहरूको आवाजलाई सरकारसम्म पुर्याउने, उनीहरूको गुनासो, चासो र विचारलाई नीतिगत तहमा स्थापित गर्ने रहेको छ। यसले लैङ्गिक हिंसा, जलवायु न्याय, यौन तथा प्रजनन अधिकार, अनलाइन सुरक्षा जस्ता मुद्दामा कार्यशाला, प्रशिक्षण, अन्तरक्रिया र वकालत अभियानहरू सञ्चालन गर्दै आएको छ।
हाल यसमा २३ जना केन्द्रीय सदस्य रहेका छन् भने सातै प्रदेशमा प्रादेशिक किशोर सञ्जालहरू गठन भई सक्रिय छन्। विशेष गरी सीमान्तकृत, जोखिममा परेका र दुर्गम क्षेत्रका किशोर–किशोरीलाई प्राथमिकतापूर्वक समावेश गरिँदै आएको छ।
हालै सम्पन्न राष्ट्रिय किशोर सञ्जाल नेपालको तेस्रो राष्ट्रिय भेला २०८२ साउन २६ देखि २८ गतेसम्म काठमाडौंको गोदावरीमा सम्पन्न भएको थियो। उक्त भेलामा राष्ट्रिय सभाको विकास तथा सुशासन समिति सभापति माननीय कमला देवी पन्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर, राष्ट्रिय बाल अधिकार परिषदकी सदस्य–सचिव इन्द्रा देवी दकाल, सेभ द चिल्ड्रेनकी प्रमुख तारा क्षेत्री, वरिष्ठ मानव अधिकारकर्मी गौरी प्रधान, सिविन नेपाल अध्यक्ष माधव प्रधान लगायतको सहभागिता थियो।
भेलाले किशोर–किशोरीलाई सशक्त बनाउन, सामाजिक अवरोध तोड्न, समावेशी विकासको वकालत गर्न र सामाजिक परिवर्तनमा सक्रिय सहभागिता जनाउन आवश्यक ज्ञान र क्षमता प्रदान गर्ने निर्णयहरूसमेत गरेको छ। राष्ट्रिय किशोर सञ्जालले सबै किशोर–किशोरीको उज्ज्वल भविष्य सुनिश्चित गर्ने दिशामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।
