जनकपुरधाम। धनुषा जिल्लाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रञ्जित कुमार यादव वडा अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २०७७/०७८ आर्थिक वर्षमा साना व्यवसायिक बाख्रापालन कार्यक्रमका लागि विनियोजित रु १५ लाखमध्ये करीब रु १४ लाख ७७ हजार हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुगेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कदम चालेको हो।
आयोगको अनुसन्धानअनुसार सबैला नगरपालिकाले सूचना सार्वजनिक नगरी मिलेमतोमा 'अर्चना कृषि सहकारी संस्था लिमिटेड' सँग सम्झौता गरेको थियो। कोभिड–१९ को बहाना देखाउँदै एउटै निवेदनमार्फत सो संस्थालाई कार्यक्रम सञ्चालित गराइएको थियो। संस्थासँग बाख्रा तथा कृषि सामग्री खरिद भएको देखिए पनि वितरण विवरण स्पष्ट नभएको र खरिद बिल समेत नक्कली पाइएको आयोगले जनाएको छ।
उक्त संस्थाबाट खरिद भएको भनिएको बोकाहरू ‘राधा कृषि फर्म’ बाट लिइएको दाबी गरिए पनि सम्बन्धित फार्मले सामग्री नबेचेको पुष्टि भएको छ। साथै आन्तरिक राजस्व कार्यालयको अभिलेखअनुसार सो आर्थिक वर्षमा उक्त फार्मको कुनै कारोबार नै नभएको देखिएको छ।
झुटा बिल, नक्कली रिपोर्ट र फर्जी कागजातको आधारमा रकम हिनामिना गरिएको पुष्टि भएपछि अख्तियारले दोषी ठहर गरिएका व्यक्तिहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रअनुसार दोषी ठहर भएका व्यक्तिहरूमा निम्न उल्लेखित छन्।
- रञ्जित कुमार यादव – तत्कालीन इन्जिनियर, सबैला नगरपालिका
- शिव कुमार झा – तत्कालीन लेखापाल, सबैला नगरपालिका
- राजकिशोर सर्झेेता – पशु सेवा शाखा प्रमुख, सबैला नगरपालिका
- दुर्गा प्रसाद राय – वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष, सबैला नगरपालिका
- सञ्जु कुमारी यादव – अध्यक्ष, अर्चना कृषि सहकारी संस्था
- पल्लवी ठाकुर – स्व. बालवीर ठाकुरकी श्रीमती, तत्कालीन प्रशासनिक अधिकृत
- रौनित ठाकुर – स्व. बालवीर ठाकुरका छोरा
आरोपितहरूमाथि भ्रष्टाचार ऐनअनुसार सजाय माग गर्दै मुद्दा अगाडि बढाइएको छ।
