काठमाडौं । नेपालबाट भारतमा फोन गर्दा लाग्ने शुल्क दोब्बरले बढेको छ । भारतीय टेलिकम कम्पनीले ‘ट्यारिफ’ बढाएको भन्दै नेपालका टेलिकमले पनि शुल्क बढाएका हुन् ।
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले सस्तो शुल्कमा भारत कल गर्न मिल्ने एक्सेस कोड नै बन्द गरेको छ । टेलिकमको सीमकार्डबाट भारत फोन गर्न तीन वटा एक्सेस कोड १४२४, १४२५ र १४४५ प्रयोग गर्न मिल्थ्यो ।अहिले टेलिकमले भारत फोन गर्न मिल्ने १४२४ एक्सेस कोड बन्द गरिदिएको छ । हाल १४२५ र १४४५ एक्सेस कोड प्रयोग गरेर मात्रै भारत कल गर्न मिल्छ ।
१४२४ एक्सेस कोड प्रयोग गरी भारत फोन गर्दा प्रतिमिनेट दुई रुपैयाँ ९९ पैसा शुल्क काट्थ्यो । १४२५ र १४४५ प्रयोग गरी फोन गर्दा प्रतिमिनेट ६ रुपैयाँ काट्छ । भारतीय कम्पनीले नै ट्यारिफ बढाएपछि घाटा हुन थालेको भन्दै टेलिकमले सस्तो दरको एक्सेस कोड बन्द गरेको बताएको छ ।
यससँगै भारत फोन गर्दा उपभोक्ताले पहिला तिर्दै आएको भन्दा दोब्बर मूल्य तिर्नुपर्ने भएको हो । एनसेलले समेत भारत फोन गर्दा लाग्ने शुल्क बढाएको छ ।
के भन्छन् अधिकारी
उपभोक्ताबाट उठ्ने पैसाभन्दा बढी भारतीय पक्षलाई तिर्नुपर्ने पैसा बढी भएपछि हाललाई १४२४ एक्सेस कोड बन्द गरिएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए । “एक सेकन्ड कुरा गरे पनि भारतीय कम्पनीलाई एक मिनेटकै पैसा तिर्नुपर्ने भयो । टेलिकमलाई घाटा धेरै बढेपछि अस्थायीरूपमा यो बन्द गरिएको हो,” प्रवक्ता ढकालले भने ।
