जनकपुर : भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेका बोइलर कुखुरा प्रहरीले धनुषाबाट बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरी निरीक्षक राम कृष्ण देवकोटाको नेतृत्वको टोलीले अवैधरुपमा ल्याइएका एकसय २० बोइलर कुखुरा सबैला नगरपालिका ४ पटेर्वाबाट बरामद गरेको हो।
प्रहरीले कुखुरासहित तस्करी गर्न प्रयोग गरिएको दुईवटा मोटरसाइकल प्र.२-०२-००३ प ६४८८ र ग ३ प ७३६४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। भारतबाट अबैधरुपमा कुखुरा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि तस्करहरु भागेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी प्रमुख देवकोटाले प्रहरीलाई देखेपछि तस्करले मोटरसाइकल र कुखुरा छाडेर भागेको जानकारी दिए।
सरकारले विगत एक दशकदेखि बर्डफ्लुको कारण देखाउँदा भारतीय पंक्षीजन्य वस्तुमा आयात प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाए पनि धनुषालगायतका सीमा क्षेत्रबाट अवैधरुपमा कुखुरा आयात हुने कार्य रोकिएको छैन।
सीमा क्षेत्रका मासु व्यवसायीले भारतीय नाका हुँदै कुखुरा अबैधरुपमा भित्र्याइरहेका छन्। सीमा जाँचका लागि खटिएका भन्सार कर्मचारीहरु भने, अबैधरुपमा भित्रिने यस्ता कुखुरा नियन्त्रणमा कुनै चासो नदिने समेत गरेको पाइएको छ।
